२४ जेठ ,दाङ ।
नेकपा एमाले दाङले केन्द्रीय परिषद् सदस्य स्वर्गीय महेश चौधरीको दोस्रो स्मृति दिवस मनाएको छ । स्मृति सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रिय सदस्य सीता सिग्देल न्यौपानेले स्वर्गीय चौधरीको व्यक्तित्वको चर्चा गर्दै उहाँ स्वाभिमानी राष्ट्रवादी नेता रहेको उल्लेख गरिन । न्यौपानेले चौधरीले जनजाति आन्दोलनमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँले देखाएको बाटोमा लाग्न कार्यकर्तालाई आग्रह गरिन । चौधरी सुखसुविधा देखि टाढा रहेर सामाजिक आन्दोलनमा लागेको उनले स्मरण गरिन ।
पूर्व स्थानीय विकास राज्यमन्त्री समेत रहेका स्वर्गीय चौधरी थारू आन्दोलनका अगुवा मानिन्छन् । दंगिशरण १ बैबाङका चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । उनले वि.सं २०२८ सालमा दाङबाट थारू भाषाको साहित्यिक पत्रिका ‘गोचाली’ निकालेका थिए ।
उनले ‘द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल (भाग-१ र २)’, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, ‘स्थविरहरुको प्राचीन इतिहास र संस्कृति’, थारू भाषाको पहिलो गीति नाटक ‘छारा’, थारू भाषामा ‘लिरौसी व्याकरण’ लगायत पुस्तक लेखेका छन् । २०८० जेठ २४ गते निधन भएको थियो ।
नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सचिव लक्ष्मण आचार्य, महेश चौधरीकी जिवनसंगीनी शान्ति चौधरी , नेपाल पत्रकार महाँसंघका केन्द्रिय सचिव सविन प्रियासन, वुद्धिजिवि परिषद् दाङका अध्यक्ष तिर्थ न्यौपाने, प्राध्यापक केवी चौधरी , स्याम आचार्य र राम बहादुर जिसीले महेश चौधरीले राजनितिक र सामाजिक योगदानको चर्चा गरेका थिए ।
कार्यक्रमको सहजिकरण जिल्ला सचिवालय सदस्य एवम् निवार्चन विभाग प्रमुख विवेक श्रेष्ठले गरेका थिए ।
तपाईको प्रतिक्रिया