नाट्टा टोलीको कलकत्ता मिसनः सीधा उडान र साझा प्याकेजमा जोड
- Pokhara Express
- २०८३ जेठ ३१ आइतबार
पोखरा एक्सप्रेस ,पोखरा ।
नेपालको पर्यटकीय राजधानी पोखरा र छिमेकी मुलुक भारतको पश्चिम बंगालको राजधानी कोलकाताबीच पर्यटन सहकार्यका लागि नयाँ मार्गचित्र तयार गरिएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले कोलकातामा आयोजना गरेको ‘पोखरा–नेपाल प्रवद्र्धन अभियान २०२६’ अन्तर्गतको बी–टु–बी (बिजनेस टु बिजनेस) कार्यक्रममार्फत दुवै सहरका व्यवसायीबीच व्यावसायिक साझेदारीको ढोका खुलेको हो ।
हालैका वर्षहरूमा भारतीय पर्यटकको रोजाइमा पोखरा अग्रस्थानमा परिरहेका बेला ‘गर्मीमे चलो पोखरा’ भन्ने मूल नाराका साथ नाट्टा गण्डकीको टोली कोलकाता पुगेको हो । कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीहरूले पोखरालाई दक्षिण एसियाकै उत्कृष्ट गन्तव्यको संज्ञा दिँदै थप पर्यटक पठाउने प्रतिबद्धता व्यक्त गरेको कार्यक्रम संयोजक संगिता पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्यले पर्यटनलाई नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, संस्कृति र आर्थिक समृद्धिको बलियो पुलका रूपमा व्याख्या गर्नुभएको थियो । पश्चिम बंगाल र नेपालबीचको भौगोलिक तथा सांस्कृतिक निकटतालाई सदुपयोग गर्दै पोखरालाई दक्षिण एसियाको प्रमुख पर्यटकीय केन्द्र बनाउन सकिने आर्चायको धारणा थियो । सोही अवसरमा ईटीएए इस्टर्न च्याप्टरका अध्यक्ष कौशिक बनर्जीले पोखराको प्राकृतिक सौन्दर्य र धार्मिक महत्वले भारतीय पर्यटकलाई आकर्षित गरिरहेको बताउनुभयो । उहाँले यो सहकार्यसँगै नेपाल र भारतबीचको खुला सीमा, सांस्कृतिक निकटता र छोटो दूरीले पर्यटन व्यवसाय विस्तारका लागि ठूलो अवसर सिर्जना गरेको बताउनुभयो ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले भारतीय पर्यटन बजारमा पोखरा र समग्र गण्डकी प्रदेशका गन्तव्यहरूप्रति उत्साहजनक चासो देखिएको बताउनुभयो । उहाँले पश्चिम बंगाल नेपालका लागि उच्च सम्भावनायुक्त बजार भएको बताउँदै प्रत्यक्ष संवादले भविष्यमा व्यावसायिक सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गर्नुभयो । दाहालका अनुसार यो अभियानले सन् २०२६ सम्म भारतीय पर्यटकको आगमनलाई उल्लेख्य वृद्धि गर्ने लक्ष्य राखेको छ ।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा र कोलकाताबीच सिधा हवाई सम्पर्क स्थापना गर्नु अहिलेको आवश्यकता रहेको औँल्याउनुभयो । सीधा उडान हुन सके दुवै क्षेत्रको पर्यटनले ठूलो फड्को मार्ने उहाँको दाबी छ । यस्तै, नाट्टा गण्डकीका द्वितीय उपाध्यक्ष राजेश पहारीले सुधारिएको सडक सञ्जालका कारण भारतीय पर्यटकहरू निजी सवारी साधनमार्फत नै सहज रूपमा पोखरा पुग्न सक्ने वातावरण बनेको जानकारी दिनुभयो ।
महासचिव चेतन कार्कीका अनुसार कार्यक्रममा इन्डियन एसोसिएसन अफ टुर अपरेटर्स, ट्राभल एजेन्ट्स एसोसिएसन अफ बंगाल, र एसोसिएसन अफ बुद्धिस्ट टुर अपरेटर्स लगायतका विभिन्न भारतीय पर्यटन संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । सहभागीहरूले पोखरा, मुक्तिनाथ, लुम्बिनी र चितवनलाई समेटेर ‘संयुक्त पर्यटन प्याकेज’ बनाउने र प्रवद्र्धन गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
यो कार्यक्रमले पोखरा र कोलकाताबीच केवल पर्यटन मात्र नभई आर्थिक र सांस्कृतिक साझेदारीको नयाँ अध्याय सुरु गरेको व्यवसायीहरूको निष्कर्ष छ । सीधा हवाई उडान र एकीकृत प्याकेजको कार्यान्वयन भएमा आगामी दिनमा भारतीय पर्यटकको चाप पोखरामा अझै बढ्ने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया