पोखरा एक्सप्रेस ,काठमाडौं।
सरकारी स्वामित्वको नेपाल आयल निगमले बुधबारदेखि पेट्रोलियम मूल्य घटाएपछि काठमाडौंसहित देशैभरका पेट्रोलपम्प व्यवसायीले इन्धन वितरण नगर्दा अभाव चुलिएको छ। पेट्रोलपम्पले मूल्य घट्ने अनुमानमा तेल नउठाउँदा ‘पेट्रोल छैन’ को बोर्ड टाँसेर पम्प बन्द गरेपछि अभाव देखिएको हो।
निगमले मंगलबार पेट्रोलमा २० रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको थियो। पेट्रोलियम अभाव देखिएपछि निगमले काठमाडौँ उपत्यकामा तीन टोली परिचालन गरी अनुगमन गरिरहेको छ। निगमले स्वचालित मूल्य प्रणाली अनुसार प्रत्येक अंग्र्रेजी महिनाको १५ तारिख र अन्तिम दिन मूल्य समायोजन गरेको हो ।
मंगलबार अधिकांश पम्पले डिपोबाट इन्धन नउठाएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। पम्पले पेटा«ेलियम नउठाउँदा सेवाग्राहीले सास्ती पाएको उनको भनाइ छ। पेट्रोलियम अभाव देखिएपछि निगमले काठमाडौं उपत्यकामा तीन वटा टोली परिचालन गरेर अनुगमन गरिरहेको ठाकुरले बताए। ‘टोलीलाई बन्द पेट्रोलपम्प अनुगमन गर्ने र इन्धन वितरण नगरेको पाइए तत्कालै शिल गर्न निर्देशन दिइएको छौं। उपत्यका बाहिर पनि प्रादेशिक कार्यालयलाई अनुगमन गर्न भनिएको छ,’ उनले भने।
डिलरबाट पम्पले मागेजति इन्धन लगे पनि अझ सस्तिने आशंकामा पेट्रोलियम व्यवसायीले पम्म बन्द गर्दा अभाव देखिएको उनको दाबी छ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
तपाईको प्रतिक्रिया