पोखरामा एक्सपर्ट एजुकेसन ईन्टर स्कुल ब्वाईज टि–२० क्रिकेट प्रतियोगिता जेठ १७ गतेदेखि हुने
- Pokhara Express
- २०८२ जेठ १७ शुक्रबार
१६ जेठ ,पोखरा
पोखरामा जेठ तेस्रो सातादेखि एक्सपर्ट एजुकेसन ईन्टर स्कुल ब्वाईज टि–२० क्रिकेट च्याम्पीयनसीप हुने भएको छ । पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन कन्सल्टेन्सीको प्रायोजनमा हुने च्याम्पीयनसीप जेठ १७ गतेदेखि २४ गतेसम्म हुने विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
च्याम्पीयनसीपमा १२ स्कुलले सहभागिता जनाउने आयोजक पोखरा महानगर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । च्याम्पीयनसीपमा त्रिवेणी पव्लिक स्कुल, मदरल्याण्ड सेकेण्डेरी स्कुल, वराही मावि, एसओएस, रत्नज्योति सेकेण्डरी स्कुल, डायमण्ड सेकेण्डरी स्कुल, प्रतिभा मावि, जुनियर सिटिजन एकेडेमी, कुमुदिनी होम्स, न्यू लाईट सेकेण्डरी स्कुल, सृजना मावि र अमरसिंह माविले सहभागिता जनाउने उनले बताए ।
च्याम्पीयनसीपमा सहभागि स्कुलहरुलाई चार समूहमा विभाजन गरेर खेलाईने भएको छ । जसको समूह ‘ए’ मा त्रिवेणी पव्लिक स्कुल, मदरल्याण्ड सेकेण्डेरी स्कुल र वराही मावि छन् भने समूह ‘बी’ एसओएस, रत्नज्योति सेकेण्डरी स्कुल र डायमण्ड सेकेण्डरी स्कुल रहेका छन् ।
त्यस्तै, समूह ‘सी’मा प्रतिभा मावि, जुनियर सिटिजन एकेडेमी र कुमुदिनी होम्स छन् भने समूह ‘डी’मा न्यू लाईट सेकेण्डरी स्कुल, सृजना मावि र अमरसिंह मावि रहेको अध्यक्ष पुनले जानकारी दिए ।
विद्यालय स्तरबाटै क्रिकेट खेलको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको अध्यक्ष पुनले बताए । उनले भने,‘क्रिकेटलाई बलियो बनाउने हो भने ग्रास रुटबाटै विकास गर्नुपर्छ । त्यसैले हामीले विद्यालय स्तरबाटै क्रिकेटको विकासका लागि प्रतियोगिता गर्न लागेका हौं ।
प्रायोजक एक्सपर्ट एजुकेसन कन्सल्टेन्सीका विष्णु गौतमले विश्व मानचित्रमा नेपाललाई चिनाउने क्रिकेटको विकासमा योगदान गर्न पाउनु आफूहरुको लागि सौभाग्य भएको बताए । ‘यसले क्रिकेटको विकास र खेलाडी उत्पादमा सघाउँछ भन्ने विश्वास छ’–उनले भने ।
खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष दीननाथ बरालले क्रिकेटमा नेपालको भविष्य राम्रो रहेको भन्दै यसका लागि खेलाडी उत्पादन जरुरी हुने भएकाले यस्ता प्रतियोतिगाले सघाउने बताए ।
तपाईको प्रतिक्रिया