रु ५५ लाख लागतमा खेलमैदान निर्माण
- Pokhara Express
- २०८२ चैत २६ बिहीबार
पोखरा एक्सप्रेस ,म्याग्दी ।
मालिका गाउँपालिका–६ डाँडागाउँमा पाखो सम्माएर हिमाली युवा क्लवको सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ ।रु ५५ लाख ६५ हजार ५५५ को लागतमा भवन र खेलमैदान निर्माण भएको हो । सरकारी निकायको अनुदानको तुलनामा दोब्बर बढी समुदायस्तरबाट सहयोग र श्रमदान जुटाएर खेलमैदान र भवन निर्माण गरिएको क्लबका अध्यक्ष टुकमान जुग्जालीले जानकारी दिए ।
“खेलमैदान र भवन निर्माण भएको ठाउँ यसअघि भिरालो पाखा थियो”, उनले भने, “डोजर लगाएर करिब ६० मिटर जमिन खारेर डिलमा पर्खाल बनाएर सम्माइएको हो ।” ६३ मिटर लम्बाइ र ३२ मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको हो । खेलमैदानको परिसरमा दुई कोठे भवन, ‘स्टेज’ र सार्वजनिक शौचालयसहितको भवन निर्माण भएको छ ।
डाँडागाउँमा यसअघि खेलमैदान नहुँदा खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो । सामुदायिक भवनमा भेला, बैठक, तालिम, गोष्ठी, सभा, समारोह र भोजभतेर सञ्चालन गर्न सहज भएको छ । क्लबले १५ वर्षअघि सुरु गरेको खेलमैदान निर्माण कार्यले अहिले पूर्णता पाएको हो ।मालिका गाउँपालिकाबाट रु १७ लाख र गण्डकी प्रदेश सरकारबाट रु १२ लाख सहयोग प्राप्त भएको खेलमैदान र भवन निर्माणका लागि हिमाली युवा क्लबले रु चार लाख ७६ हजार बराबरको श्रमदान र फुलपाती आमा समूहले रु तीन लाख नगद सहयोग गरेका छन् ।
सुवास गर्बुजा, सविन पुन, रविन पुन, डाइमण्ड जुग्जाली, अमृत जुग्जाली, इन्द्र पुन, चकबहादुर पाइजा, सुरज जुग्जाली, चित्र पाईजा, गमबहादुर जुग्जाली, मन्दीप÷सन्दीप÷रघु जुग्जाली र लकमन पुनले रु एक÷एक लाख सहयोग गर्नुभएको क्लवबा सचिव रोहन जुग्जालीले जानकारी दिए । रत्नसिंह गर्बुजाले रु ५५ हजार ५५५, माइकल पाईजा, सुर्ज–रेशम जुग्जाली, तिर्थमान÷सज्जन जुग्जाली, नारायण जुग्जाली, रुविन जुग्जाली, जीवन पुनले रु ५०÷५० हजार, कर्ण जुग्जालीले रु ३१ हजार, प्रवीन रानाले ३१ हजार, खिमबहादुर जुग्जालीले रु १७ हजार र रमेश पाईजाले रु पाँच हजार सहयोग गरेकाे क्लबले जनाएको छ ।
खेलमैदानको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र भवनको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले बुधबार उद्घाटन गरे । कार्यक्रममा सांसद जुग्जालीले ग्रामीण क्षेत्रमा पूर्वाधार विकासले तीव्रता पाए पनि जनसङ्ख्या घट्नु र बसाइँसराइ बढ्नु चुनौती बनेकोमा चिन्ता व्यक्त गर्दै पर्यटन र कृषिमा आधारित उद्यम, व्यवसायमा लाग्न सुझाव दिए ।भवन र खेलमैदान उद्घाटनका साथै नयाँ वर्षको अवसरमा क्लबका संस्थापक कासिराम जुग्जाली स्मृति प्रथम कप आयोजना गरिएको छ । भलिबल, फुटसललगायतका प्रतियोगिता सञ्चालन हुने क्लबले जनाएको छ । शुभारम्भ कार्यक्रममा सहयोगदातालाई सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया