पोखरा एक्सप्रेस ,पोखरा
काठमाडौँ । आज ईद (ईद–उल–फित्र) पर्व मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउँदै छन् ।
आज ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आशीर्वाद लिने र दिने गरिन्छ । सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहिआएको छ ।
रोजाको अनुशासन, आत्मसंयम र श्रद्धापूर्वक गरिएको नमाजको साधनापछि मनाइने ईद पर्व आत्मिक शुद्धता र आध्यात्मिक उन्नतिको प्रतीक हो । यस पर्वले मानिसलाई संयम, धैर्य र आत्मनियन्त्रणको पाठ सिकाउँदछ । यस अवसरमा आयोजना हुने ‘इफ्तार’ र सामूहिक नमाजले देश र समुदायमा एकता र सहअस्तित्वको भावना बलियो बनाउँदछ । दान र सहयोगको परम्पराले असहाय, गरिब तथा सहयोगको आवश्यकता भएकाप्रति करुणा र सहानुभूति जगाउँदछ ।
ईदको चन्द्रमा देखेपछि ‘चाँद मुबारक’ वा ‘ईद मुबारक’ भन्ने परम्परा शुभकामना मात्र होइन, आपसी सद्भाव र भाइचारा प्रकट गर्ने सुन्दर संस्कार हो । ईद–उल–फित्र धार्मिक पर्व मात्र होइन, सामाजिक सद्भाव र सांस्कृतिक ऐक्यबद्धताको प्रतीक पनि हो । नयाँ कपडा लगाउने, नमाज पढ्ने, एक अर्कासँग गला मिलाउँदै शुभकामना आदान–प्रदान गर्ने मौलिक परम्पराले सामाजिक सम्बन्धलाई अझ घनिष्ठ बनाउँदछ । विशेष परिकार बनाएर खाने–खुवाउने संस्कारले साझा खुसी बाँड्ने परम्परालाई जीवन्त राख्न सहयोग पुग्दछ भने दान र सहयोगको संस्कारले समाजलाई न्यायपूर्ण र करुणामय बनाउन मद्दत गर्दछ । यस पर्वले हामीलाई भाइचारा, मेलमिलाप र सामूहिकताको मूल्यलाई आत्मसात् गर्न प्रेरणा प्रदान गर्दछ ।
तपाईको प्रतिक्रिया