पोखरा एक्सप्रेस ,पोखरा ।
निर्वाचन आयोगले आगामी फागुन २७ गते बिहानसम्म प्रतिनिधिसभा निर्वाचनको सबै मतगणना सम्पन्न हुने अपेक्षा गरेको जनाएको छ। आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा प्रत्यक्षतर्फ अब १० वटा निर्वाचन क्षेत्रको मात्रै अन्तिम परिणाम आउन बाँकी रहेको जानकारी दिएको छ।
आयोगका अनुसार हालसम्म प्रत्यक्षतर्फ १५५ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी १० निर्वाचन क्षेत्रमा मतगणना जारी छ। आयोगले सोमबार दिउँसोसम्म सबै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरेको जनाएको छ।
यसैगरी, समानुपातिकतर्फ खसेको कुल १ करोड ९ लाख मतमध्ये हालसम्म करिब ५० लाख मतगणना सम्पन्न भएको छ, जुन करिब ४६ प्रतिशत हो। आयोगका अनुसार फागुन २७ गते बिहानसम्म समानुपातिकतर्फको सम्पूर्ण मतगणना सकिने अपेक्षा गरिएको छ।
समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलका तर्फबाट निर्वाचित हुने सांसदहरूको संख्या निर्धारण गर्नेछ।
निर्धारित संख्याअनुसार समानुपातिक क्लस्टरको प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचित हुने सांसदहरूको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्ने जनाएको छ। दलहरूले बन्दसूचीभित्रबाट नाम सिफारिस गरेपछि आयोगले ती नामावली समावेशी क्लस्टरअनुसार मिलेको–नमिलेको रुजु गर्नेछ।
यस प्रक्रिया पूरा भएपछि समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराइने आयोगले जनाएको छ। आयोगले यी सम्पूर्ण प्रक्रिया आगामी चैत ५ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम गरिरहेको स्पष्ट पारेको छ।
तपाईको प्रतिक्रिया