पोखरा एक्सप्रेस ,काठमाडौं।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बढ्दो व्यापार घाटा घटाई निर्यातमुखी अर्थतन्त्र विकास गर्ने लक्ष्यसहित ‘वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजना’ लागू गरेको छ।
४ असारको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत कार्ययोजनामा संघीय, प्रादेशिक र स्थानीय तहको सहभागितासहित १६२ भन्दा बढी क्रियाकलाप समावेश छन्। कार्ययोजनाले तुलनात्मक लाभ भएका वस्तुको उत्पादन वृद्धि, निर्यात विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच बढाउने लक्ष्य लिएको छ।
योजनाअनुसार अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना, साना तथा मझौला उद्योगलाई निर्यातमा सहुलियत, व्यापारिक नाकामा गोदाम, शीतभण्डार र गुणस्तर परीक्षण प्रयोगशाला विस्तार गरिनेछ। साथै, ई–कमर्स प्रवर्द्धन, डिजिटल व्यापारका लागि कानुनी सुधार तथा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा रहेका अवरोध हटाउने व्यवस्था गरिनेछ।स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई तीव्रता दिइनेछ भने सार्वजनिक निकायमा कम्तीमा २० प्रतिशत नेपाली वस्तुको प्रयोग अनिवार्य बनाइनेछ।
कार्ययोजनाले हरित व्यापार, बौद्धिक सम्पत्ति अधिकार संरक्षण तथा एन्टि–डम्पिङ कानुनको प्रभावकारी कार्यान्वयनलाई पनि प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ।
तपाईको प्रतिक्रिया