होर्मुज जलडमरूमध्य बन्द गरिएको इरानको घोषणा, अमेरिकाद्वारा दाबी अस्वीकार
- Pokhara Express
- २०८३ असार ७ आइतबार
पोखरा एक्सप्रेस ,काठमाडौं।
युद्ध सञ्चालनको जिम्मेवारी पाएको इरानको खातम अल–अम्बिया मुख्यालयले होर्मुज जलडमरूमध्य जहाज आवागमनका लागि बन्द गरिएको घोषणा गरेको छ। तर अमेरिकाले इरानको उक्त दाबीलाई अस्वीकार गरेको छ।इरानको इस्लामिक क्रान्तिकारी सुरक्षा बल (आईआरजीसी)को नौसैनिक शाखाले होर्मुज जलडमरूमध्य सबै जहाजका लागि बन्द गरिएको जनाएको छ। उसले अमेरिका र इजरायलमाथि युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै यस्तो निर्णय गरिएको बताएको हो।
यता असार ७ गते स्विट्जरल्यान्डमा इरान र अमेरिकाबीच वार्ता हुने भएको छ। यसबारे मध्यस्थकर्ता पाकिस्तान, इरानी परराष्ट्र मन्त्रालय तथा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पुष्टि गरेका छन्।
इरानी सञ्चारमाध्यमका अनुसार खातम अल–अम्बिया मुख्यालयले अमेरिकासँग भएको युद्धविराम सम्झौताका सर्तहरू उल्लङ्घन भएको भन्दै जलडमरूमध्य बन्द गर्ने घोषणा गरेको हो। साथै दक्षिणी लेबनानमा इजरायलद्वारा निरन्तर युद्धविराम उल्लङ्घन, सर्वसाधारणमाथि भएको हिंसा तथा विस्थापनलाई पनि यसको कारण बताइएको छ।
यसै साता अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि १४ बुँदे सहमतिको रूपरेखा तय भएको थियो।
होर्मुज जलडमरूमध्य विश्वकै सबैभन्दा व्यस्त पेट्रोलियम ढुवानी मार्गमध्ये एक हो। विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यासको आपूर्ति यही मार्गबाट हुने गर्छ।
अमेरिकाले गर्यो इरानी दाबीको खण्डन
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुला रहेको बताएका छन्।
उनले भने, “इरानले अझै पनि होर्मुज जलडमरूमध्य बन्द गरेको भन्ने कुनै प्रमाण हामीसँग छैन।”
उनका अनुसार अघिल्लो दिन मात्र उक्त जलमार्गबाट एक करोड ६० लाख ब्यारेल तेल ढुवानी भएको थियो, जसले जहाजहरूको आवागमन निरन्तर जारी रहेको देखाउँछ।
अमेरिकी केन्द्रीय सैन्य कमान्डले असार ६ गते होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजहरूको आवागमन बढेको जनाएको छ। साथै समुद्री यातायातको स्वतन्त्रता सुनिश्चित गर्न अमेरिकी सेना क्षेत्रभर सक्रिय रहेको पनि उल्लेख गरेको छ।
कमान्डका अनुसार अन्तर्राष्ट्रिय जलमार्गबाट सुरक्षित आवागमन कायम रहेको छ र ५५ वटा व्यापारिक जहाजले ठूलो मात्रामा मालसामान तथा एक करोड ७० लाखभन्दा बढी ब्यारेल तेल विश्व बजारसम्म पुर्याएका छन्।
संयुक्त समुद्री सूचना केन्द्रले यसै साता जारी गरेको परामर्शमार्फत सबै जहाजका लागि निर्धारित मार्गबाट सुरक्षित र अवरोधरहित आवागमनको व्यवस्था कायम रहेको जनाएको छ।
अमेरिकी सेना क्षेत्रमै तैनाथ रहेको र इरानसँग भएको सम्झौताका सबै प्रावधानको पूर्ण पालना सुनिश्चित गर्न निगरानी जारी राखिएको पनि कमान्डले जनाएको छ।
स्विट्जरल्यान्डमा आइतबार वार्ता
यसैबीच पाकिस्तानको परराष्ट्र मन्त्रालयले स्विट्जरल्यान्डमा असार ७ गते इरान र अमेरिकाका प्रतिनिधिबीच वार्ता हुने जनाएको छ। इरान र अमेरिकाले पनि यसको पुष्टि गरेका छन्।
इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले आइतबार हुने वार्ताको पुष्टि गरेका छन्। इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले वार्तामा इरानको सहभागिताको उद्देश्य अर्को पक्षलाई आफ्ना प्रतिबद्धता पूरा गर्न आग्रह गर्नु रहेको बताएका छन्।
इरानी परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा पाकिस्तान र कतारका मध्यस्थकर्ताहरू पनि बैठकमा सहभागी हुने उल्लेख गरेको छ। होर्मुज जलडमरूमध्य बन्द गर्ने घोषणा भएपछि जारी उक्त वक्तव्यमा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको जनाइएको छ।
वक्तव्यमा १४ बुँदे सहमति पत्रअनुसार भएका समझदारीलाई कार्यान्वयनतर्फ अघि बढाउनु वार्ताको मुख्य उद्देश्य रहेको उल्लेख छ।
उता अमेरिकी उपराष्ट्रपति भान्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर र विशेष दूत स्टिभ विटकफ वार्ताको तयारीका लागि पहिले नै स्विट्जरल्यान्ड पुगिसकेको बताएका छन्।
उनका अनुसार उनीहरू वार्तासँग सम्बन्धित प्राविधिक विषयमा काम गरिरहेका छन्। भान्स स्वयं पनि स्विट्जरल्यान्ड जान सक्ने जनाइएको छ।
यसअघि उपराष्ट्रपति भान्स सहभागी हुने अपेक्षा गरिएको स्विट्जरल्यान्डस्थित वार्ता स्थगित गरिएको थियो। त्यसबेला अमेरिकी राष्ट्रपति कार्यालयले व्यवस्थापकीय कठिनाइलाई कारण बताएको थियो।
राष्ट्रपति कार्यालयको वक्तव्य सार्वजनिक हुनुभन्दा केही घण्टाअघि लेबनानका सञ्चारमाध्यमहरूले इजरायली हवाई आक्रमणका कारण वार्ता स्थगित गरिएको समाचार प्रकाशित गरेका थिए।
तपाईको प्रतिक्रिया