तेल मूल्य ओरालो, सेयर बजार उकालो, विश्व बजारमा उथलपुथल
- Pokhara Express
- २०८२ चैत १० मङ्गलबार
पोखरा एक्सप्रेस ,काठमाडौं।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विद्युत केन्द्रमा आक्रमण केही दिनका लागि स्थगित गर्ने घोषणा गरेपछि विश्व तेल बजारमा मूल्य ह्वात्तै घटेको छ भने युरोपेली तथा अमेरिकी सेयर बजार माथि उक्लिएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्–अमेरिका र इरानबीच मध्यपूर्वको द्वन्द्वको ‘सम्पूर्ण र पूर्ण’ समाधानका लागि सप्ताहन्तमा वार्ता भएको छ। यी वार्ताको स्वर र भाव अत्यन्त गहन, विस्तृत र रचनात्मक रहेकाले सेनालाई इरानका विद्युत केन्द्र र ऊर्जा पूर्वाधारमाथिको आक्रमण पाँच दिनका लागि स्थगित राख्न निर्देशन दिएको छु।’
ट्रम्पले यस्तो घोषणा गरे पनि इरानले यो दाबी पूर्ण रूपमा अस्वीकार गरेको छ। ट्रम्प दाबीलाई इरानले फेक भनेको छ। ‘अमेरिकासँग कुनै वार्ता भएको छैन, यो वित्तीय र तेल बजार हेरफेर गर्न तथा अमेरिका र इजरायल फसेको दलदलबाट उम्किन फैलाइएको झुटो समाचार हो’, इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमा यो खण्डन सार्वजनिक गरे।
यसअघि ट्रम्पले होर्मुज समुद्री बाटो ४८ घन्टाभित्र नखुले इरानका विद्युत केन्द्र नष्ट पारिने धम्की दिएका थिए। इरानले पनि जवाफमा क्षेत्रका प्रमुख पूर्वाधारलाई निशाना बनाइने चेतावनी दिएको थियो। सप्ताहन्तमा भएका यी तिखा कूटनीतिक आदानप्रदानले विश्व वित्तीय बजारलाई हल्लाइदिएको थियो र द्वन्द्व लामो समयसम्म खिँचिने चिन्ता झनै गहिरिएको थियो।
तेल मूल्यको कुरा गर्दा, सोमबार एक बिन्दुमा अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य प्रतिब्यारेल ११३ अमेरिकी डलरसम्म पुगेको थियो। तर ट्रम्पको बयान सार्वजनिक भएलगत्तै यो मूल्य तीव्र गतिमा घटेर ९६ डलर प्रतिब्यारेल झरेको छ। यद्यपि विश्लेषक अझै पनि एक सय डलरमाथि रहेकाले उपभोक्ता र व्यावसायिक प्रतिष्ठानहरूलाई ऊर्जाको बोझ अत्यधिक नै बनिरहने बताउँछन्।
सेयर बजारमा पनि सुधार देखिएको छ। बेलायतको प्रमुख सेयर सूचकांक दिनको सुरुमा दुई प्रतिशतभन्दा बढी ओर्लिएकोमा सामान्य अवस्थामा बन्द भयो। जर्मनीको प्रमुख शेयर सूचकांक सवा एक प्रतिशतले र फ्रान्सको प्रमुख शेयर सूचकांक झन्डै एक प्रतिशतले बढेर बन्द भएको छ। अमेरिकाका प्रमुख सेयर सूचकांक पनि सकारात्मक क्षेत्रमा बन्द भएका छन्। एउटा सूचकांक एक दशमलव एक प्रतिशत र अर्को झन्डै डेढ प्रतिशतले माथि उक्लिएको छ।
तपाईको प्रतिक्रिया