एकता कायम भए ८४ मा १६ जित्न सम्भव छ ः लेखराज भट्ट
- Pokhara Express
- २०८२ जेठ २९ बुधबार
२८ जेठ ,धनगढी ।
नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीभित्र एकता कायम भए २०८४ मा सुदूरपश्चिम प्रदेशका सबै १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जित हासिल गर्न सफल हुने बताएका छन् ।
नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र आन्तरिक एकता नभए हाल प्राप्त दुई सिट समेत गुमाएर पार्टी शून्य सिटमा झर्न सक्ने चेतावनी दिए ।
पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको बताउँदै उनले यस्तो अवस्थामा जनवर्गीय सङ्गठनहरू सक्रिय भएर अग्रपंक्तिमा उभिनुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘पार्टी सङ्कटमा पर्दा हामी सबै अग्रपंक्तिमा उभिनुपर्छ । एमाले अहिले पनि बलियो बन्दै गएको छ, त्यसैले पार्टीमाथि घेराबन्दी भइरहेको छ । पार्टीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्रीमाथि समेत आन्तरिक र बाह्य रूपमा दबाब दिइएको छ, त्यसको प्रतिकार गर्न हामी सबै एकजुट हुनुपर्छ ।’
पार्टी अध्यक्षको आत्मबल र सक्रियता सबैका लागि प्रेरणादायी भएको उल्लेख गर्दै उनले उहाँ देश निर्माणमा समर्पित हुनुहुन्छ । दिनको २० घण्टा काम गर्नुहुन्छ । यस्तो नेतृत्वबाट खेलाडीहरूले पनि प्रेरणा लिनुपर्छ भने ।’
‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई आत्मनिर्भर भएर अघि बढाउनु पर्ने भन्दै उनले सबैलाई पार्टीभित्र अनुशासन र एकताको भावना आत्मसात् गर्न आह्वान गरे ।
कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहालले पार्टीमा सङ्कट उत्पन्न भएका बेला महासङ्घको भूमिका महत्वपूर्ण हुने बताउँदै आगामी निर्वाचनमा एमालेलाई सशक्त बनाउन महासङ्घले सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा खेलकुद र खेलाडीहरूको ठुलो सम्भावना रहेको बताए ।
उनले समृद्धिका लागि खेलकुदलाई आर्थिक र सामाजिक विकाससँग जोड्नुपर्ने धारणा राखे । विशेषगरी क्रिकेट खेलमा यहाँ ठुलो सम्भावना रहेको भन्दै उनले स्तरीय क्रिकेट मैदान निर्माणको आवश्यकता औँल्याए ।
प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले एमालेले पछिल्लो समय खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको जनाउँदै सुदूरपश्चिम प्रदेशको खेलकुद नीति निर्माणमा सरकार र सम्बन्धित निकायहरू गम्भीर हुनुपर्ने बताए ।
उनले सुदूरपश्चिममा खेलकुदको पूर्वाधार र नीतिगत सुधारमा राज्यको ध्यान केन्द्रित गरिनु आवश्यक रहेको बताए । खेलकुद महासङ्घका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज विष्णु चन्दले सुदूरपश्चिमको खेलकुद विकासका लागि महासङ्घ निरन्तर लागिरहेको बताएका थिए ।कार्यक्रममा विभिन्न खेलकुदसँग सम्बन्धित व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । समापन मन्तव्य दिँदै महासंघ अध्यक्ष प्रकाश चन्दले सुदूरपश्चिमको खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिमा महासंघ निरन्तर क्रियाशील रहेको बताए ।
तपाईको प्रतिक्रिया