पोखरा एक्सप्रेस ,काठमाडौं।
नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड)का हालसम्म ४३ किमिमध्ये २५ किलोमिटरमा कालोपत्रे सकिएको छ। आयोजना प्रमुख केशव ओझाका अनुसार यस खण्डको समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ।
आयोजनाले चालू आर्थिक वर्षमा ७५ प्रतिशत भौतिक प्रगति पुर्याउने लक्ष्य राखे पनि बिटुमिन अभावका कारण लक्ष्य प्राप्ति नहुने देखिएको हो।
पहिलो खण्डअन्तर्गत नागढुंगा–नौबिसे खण्डको भौतिक प्रगति ८८ प्रतिशत पुगिसकेको छ। दोस्रो खण्ड अर्थात् नौबिसे–मलेखुमा हालसम्म सम्पन्न २५ किलोमिटर कालोपत्रेमध्ये २.५ किलोमिटर दुई लेनको रहेको छ भने बाँकी २२.५ किलोमिटर सडकको पूर्ण चौडाइमा कालोपत्रे गरिएको छ।
निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ज्ञानेन्द्र घिमिरेले मौसमले साथ दिए आगामी केही दिनभित्रै थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको बताए। हाल निर्माण कम्पनीले दैनिक ४ सय देखि ५ सय मिटरसम्म कालोपत्रे गर्ने क्षमताका साथ काम गरिरहेको दाबी गरेको छ।
तपाईको प्रतिक्रिया