डायमण्ड माविमा १७१ विद्यार्थी दीक्षित
- Pokhara Express
- २०८३ असार २१ आइतबार
पोखरा एक्सप्रेस ,पोखरा।
पोखरा महानगरपालिका–२७ स्थित डायमण्ड माध्यमिक विद्यालयमा यस वर्ष कक्षा १२ उत्तीर्ण गरेका १७१ जना विद्यार्थी दीक्षित भएका छन् ।
दीक्षान्त समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. ईन्द्रप्रसाद तिवारीले दीक्षित विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेको बताए। उनले विद्यालयको निरन्तरको मेहनत र समर्पणको प्रतिफल नै आजको उपलब्धि भएको उल्लेख गरे ।
उनले कक्षा १२ पछिको अध्ययन विद्यार्थीका लागि महत्वपूर्ण मोड भएको भन्दै यस अवधिमा अभिभावक र विद्यालयको भूमिका अझ महत्वपूर्ण रहने धारणा राखे। उच्च शिक्षामा ज्ञान, विज्ञान, प्रविधि, सीप र अनुसन्धानका अथाह अवसर रहेको उल्लेख गर्दै स्पष्ट लक्ष्य र दृढ अठोटका साथ अघि बढ्न विद्यार्थीलाई आग्रह गरे ।
कुलपति तिवारीले अध्ययनसँगै बजेट व्यवस्थापन, समयको सदुपयोग, संस्कार, इतिहास, भूगोल तथा मातृभूमिप्रतिको माया र जिम्मेवारीलाई पनि आत्मसात गर्नुपर्ने बताए। उनले कृषि, पर्यटन, उद्यमशीलता तथा अनुसन्धानका क्षेत्रमा लागेर राष्ट्र निर्माणमा योगदान गर्न विद्यार्थीलाई प्रेरित गरे ।
विद्यालयका निर्देशक माधवशरण उपाध्यायले जीवनका अनुभव र शिक्षाले विद्यार्थीलाई सही मार्गदर्शन गर्ने उल्लेख गर्दै उत्कृष्ट नतिजाका लागि अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरे। कर्म र साधनाले अन्ततः सफलता दिलाउने विश्वास व्यक्त गर्दै उनले प्राप्त ज्ञान सधैं उज्यालो र प्रेरणादायी बनोस् भन्ने शुभकामना दिए ।
विद्यालयका प्रिन्सिपल यमबहादुर रोक्काले जीवनका हरेक चुनौतीको सामना गर्दै प्रविधि, भाषा, संस्कृति तथा विद्यालयसँगको सम्बन्धलाई कहिल्यै नबिर्सन विद्यार्थीलाई आग्रह गरे ।
दीक्षित विद्यार्थीका तर्फबाट मन्तव्य राख्दै सुजल जिसीले अनुशासन, निरन्तर अध्ययन तथा विज्ञान, समाज, संस्कृति र प्रविधिसँग जोडिएर अघि बढ्नुपर्ने आवश्यकता अ ौंल्याए । यस वर्ष पदम डायमण्ड अवार्ड २०८३ बाट सर्वौकृष्टमा सुजल जिसी विज्ञान संकाय, सौरव त्रिपाठी व्यवस्थापन र होटेल मेनेजमेण्टबाट नोयल राना उत्कृट विद्यार्थी घोषणा गरियो ।
विद्यालयले यस वर्ष व्यवस्थापन संकायबाट ८० जना, होटल व्यवस्थापनबाट ३६ जना र विज्ञान संकायबाट ५५ जना गरी कुल १७१ जना विद्यार्थीलाई दीक्षित गरेको जनाएको छ ।
विद्यालयका शिक्षक सञ्जीव थापाका अनुसार हालसम्म २,३४५ जना विद्यार्थी कक्षा १२ उत्तीर्ण गरिसकेका छन् भने विभिन्न संकायबाट कुल १,९८७ जना विद्यार्थी दीक्षित भइसकेका छन्। उनीहरू स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययन र विभिन्न पेशा तथा स्वरोजगारमा संलग्न रहेका छन् ।
वि.सं. २०४५ साल श्रीपञ्चमीका दिन स्थापना भएको विद्यालयमा हाल अंग्रेजी माध्यमबाट विभिन्न विषयको अध्यापन हुँदै आएको छ। विद्यालयमा शिक्षक तथा कर्मचारी गरी १४१ जना कार्यरत रहेका छन् ।
तपाईको प्रतिक्रिया