पोखरा एक्सप्रेस ,पोखरा ।
पोखरा–बेगनासताल रुटमा सार्वजनिक यातायातलाई आधुनिक, वातावरणमैत्री र यात्रुमैत्री बनाउने उद्देश्यका साथ नयाँ व्यवसायीहरूको समूहले १६ सिटे विद्युतीय (EV) गाडी दर्ता तथा सञ्चालन प्रक्रिया अगाडि बढाएको छ।
लामो समयदेखि वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किएका युवाहरूको जमातले यो योजना सुरु गर्न लागेको बताइएको छ। प्रारम्भिक चरणमा १० वटा १६ सिटे विद्युतीय गाडी सञ्चालन गर्ने लक्ष्य राखिएको छ। व्यवसायीहरू समूहगत रूपमा आवश्यक प्रक्रिया पूरा गर्दै पोखरा महानगरपालिका, यातायात व्यवस्था कार्यालय लगायत सम्बन्धित निकायबाट आवश्यक अनुमति प्राप्त गर्न गृहकार्य गरिरहेका छन्।
व्यवसायीहरूका अनुसार यो केवल सुरुवात मात्र हो। सेवा प्रभावकारी र सफल भएपछि आवश्यकताअनुसार भविष्यमा थप रुटमा विस्तार गर्दै विद्युतीय सवारीसाधनको संख्या पनि क्रमशः बढाइने योजना रहेको बताइएको छ।
यस योजनाले स्थानीय बासिन्दा तथा पर्यटकलाई सस्तो, छिटो, सुरक्षित र वातावरणमैत्री यातायात सेवा उपलब्ध गराउने विश्वास लिइएको छ। विशेषगरी बेगनासताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज आवागमनको व्यवस्था हुने अपेक्षा गरिएको छ।
यसैबीच, व्यवसायीहरूले बेगनास ताल बाँध नजिक बसपार्क निर्माण तथा सञ्चालनका लागि सम्बन्धित निकायसँग प्रस्ताव समेत राखेका छन्। बसपार्क निर्माण भएमा यात्रु व्यवस्थापन, गाडी सञ्चालन र पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।
यदि यो योजना सफलतापूर्वक कार्यान्वयनमा आएमा बेगनासताल–पोखरा–बेगनासताल रुटमा विद्युतीय सार्वजनिक यातायातको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ, जसले स्थानीय विकास, रोजगारी सिर्जना, स्वदेश फर्किएका युवाहरूको उद्यमशीलता र दिगो पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
तपाईको प्रतिक्रिया