मानवसेवा आश्रमको महायज्ञ तयारी पूरा
- Pokhara Express
- २०८३ बैशाख १७ बिहीबार
पोखरा एक्सप्रेस ,पोखरा ।
मानवसेवा आश्रमले पोखरा–२५, हेमजामा ‘श्रीमद्भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८३’ आयोजना गर्ने भएको छ । यही १९ देखि २६ वैशाखसम्म मानवसेवा आश्रम आश्रम हेमजामा हुने उक्त महायज्ञको तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलनमा जनाइयो ।
हेमजास्थित आश्रमको निर्माणाधीन भवन तथा लक्ष्मीनारायण मन्दिरलाई पूर्णता दिने, मुक्तिनाथ सेवा धर्मशाला निर्माण र अक्षयकोष श्रीबृद्धि गर्ने उद्देश्यका साथ उक्त महायज्ञ गर्न लागिएको मानवसेवा आश्रमका परिकल्पनाकार रामजी अधिकारीले जानकारी दिए । उनका अनुसार, यसबाट पितृमोक्ष, शान्ति प्राप्ति एवं मानवता प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
उद्घाटनका दिन बाजागाजासहित शोभायात्रा हुनेछ । त्यस्तै, विभिन्न सांस्कृतिक झाँकी, शंखनाद, भजनकीर्तन समेत संचालन गरिनेछ । जसअन्तर्गत प्रत्येक दिन बिहान ५ देखि ७ बजेसम्म योगविज्ञान शिविर, साढे ७ देखि साढे ९ बजेसम्म आमा सेमिनार कार्यक्रम गरिने अधिकारीले बताए ।
त्यस्तै, साढे ११ बजेसम्म भजन प्रतियोगिता, साढे ११ देखि ५ बजेसम्म कथा प्रवचन, साँझ ५ देखि साढे ६ बजेसम्म शिक्षकको लागि उत्प्रेरणमूलक कार्यक्रम एवं राति ९ बजेसम्म कलाकारबाट भजन प्रस्तुतिलगायतका कार्यक्रम गरिने भएको छ । महायज्ञका प्रमुख वाचक भागवत्भाष्कर पण्डित कमलनयन गौतम हुन् । उनले मानवसेवा आश्रमका सबैजसो महायज्ञमा निःशुल्क कथा वाचन गर्दै आएका छन् ।
अधिकारीले यज्ञमार्फत ज्ञानलाई विज्ञानसँग जोडिने पनि स्पष्ट पारे । सात प्रदेशस्थित २३ जिल्लाका ३४ सेवा केन्द्रमार्फत आश्रमले सहयोगापेक्षीलाई सेवा उपलब्ध गराइरहेको जनाउँदै उनले कास्कीका २ सेवा केन्द्र हेमजा र छोरेपाटनमा आश्रम सञ्चालनमा मासिक ४० लाख खर्च लाग्ने गरेको जानकारी दिए ।
उनले भने, ‘हेमजाको भवन पूर्णता दिन अब करिब ४ करोड लाग्छ, मन्दिरमा पनि करिब डेढदेखि २ करोडसम्मको कार्य गर्न बाँकी नै छ । यी कार्यभार पूरा गर्न यज्ञ सफल हुने विश्वास छ ।’ आश्रमले विभिन्न जिल्लामा १३ वटा यस्तै यज्ञ लगाइसकेको छ । मानवसेवा आश्रमको आयोजनामा पोखरामा हुने महायज्ञ दोस्रो हो ।
अधिकारीले आश्रम सञ्चालन एवं व्यवस्थापनका लागि करिब ६० प्रतिशत रकम विभिन्न दाता एवं संघसंस्थाबाट तथा ४० प्रतिशत सरकारको सहयोग हुने गरेको सुनाए ।
मूल समारोह समिति संयोजक अनिलकुमार शाहीले यज्ञमा आम पोख्रेलीको साथ रहने विश्वास सुनाउँदै मानवीय सेवा नै परम् धर्म भएको धारणा राखे ।
मूल समारोह समिति उपसंयोजक सुष्मा पौडेलले आश्रम निर्माणमार्फत मानव सेवाको संकल्प पूरा हुने धारणा राख्दै तन, मन र धन, जे सकिन्छ त्यहीले सहयोग गर्न अपिल गरिन् ।
महायज्ञ अवधिभर कथा वाचनसँगै विविध सांस्कृतिक र धार्मिक कार्यक्रमहरु पनि आयोजना गरिनेछ । आश्रमले यज्ञ आयोजना गर्नुको मुख्य उद्देश्य आर्थिक संकलन मात्र नभइ धर्म, संस्कार, सामाजिक सेवा र मानवताको सन्देश प्रवाह गर्ने पनि रहेको परिकल्पनाकार अधिकारीले बताए ।
२०६९ भदौ १३ मा आश्रमले हेटौंडाबाट मानवीय सेवा सुरुवात गरेको हो । जसका अहिले देशैभरी २३ जिल्लामा ३४ सेवा केन्द्र सञ्चालित छन् । ती केन्द्रमा करिब २ हजार १ सय सहयोगापेक्षी आश्रित छन् ।
आश्रमले देशभरबाट सहयोगापेक्षी सडक आश्रित मानिसहरुको उद्धार गरी उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलन गराउँदै आएको जनाएको छ । आश्रम व्यवस्थापनका लागि समय–समयमा आश्रमको पूर्वाधार निर्माण, सेवा विस्तार र अक्षयकोष बृद्धिका लागि यज्ञ हुँदै आएका छन् ।
तपाईको प्रतिक्रिया