विद्यार्थीले तयार पारेका बाँसका सामाग्री अतिथिलाई उपहार
- Pokhara Express
- २०८३ बैशाख २ बुधबार
पोखरा एक्सप्रेस ,पोखरा ।
विभिन्न औपचारिक समारोहमा आमन्त्रित पाहुनालाई सम्झना स्वरुप बजारबाट आयातित सामग्री उपहार दिने परम्परा समान्य जस्तै बनेको छ । तर पोखरा महानगरपालिका वडा नं. १७ मा आयोजित एक कार्यक्रमले यो परम्परालाई फरक ढंगले प्रस्तुत गर्दै नयाँ सन्देश दिएको छ ।
नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन समारोहमा सहभागी अतिथिहरुलाई स्थानीय विद्यार्थीका सिर्जनात्मक हातबाट बनेका बाँसका सामग्री उपहार दिईदा कार्यक्रम भावनात्मक बनेको थियो । जानकी माध्यमिक विद्यालय पोखरा १७ महतगौडामा कक्षा ५ देखि ८ मा अध्ययनरत विद्यार्थीले निर्माण गरेका सामग्री वितरण गरिएको हो ।
विद्यालयका कलिला हातले तयार पारेका बाँसका पेन होल्डर, ढकिया लगायतका सामाग्री वडा अध्यक्ष राधिका शाही योगीले नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याललाई हस्तान्तरण गर्नुभयो । उक्त सामग्री केवल उपहार मात्र नभई विद्यार्थीको सीप, मेहनत र सिर्जनशीलताको प्रतिक बने ।
कार्यक्रममा उपस्थित अधिकांश सहभागीहरुले परम्परागत उपहार भन्दा फरक, स्थानीय श्रोत र श्रमको प्रयोगवाट बनेका सामग्रीले गहिरो प्रभाव पारेको प्रतिक्रिया दिएका थिए । बजारमा सजिलै पाइने वस्तु भन्दा आप्mनै गाउँ समुदायका बालबालिकाले बनाएका सामग्रीले आत्मीयता र मौलिकताको अनुभूती गराएको उनीहरुको सामुहिक भनाई थियो ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको आर्थिक सहयोगमा विद्यार्थीका लागि सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम अन्तर्गतको एक लाख ५० हजार रुपैयाले तालिम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
विद्यालय विदाको समयको सदुपयोग गर्दै सञ्चालन गरिएको उक्त तालिमले विद्यार्थीलाई सीपमूलक शिक्षासंग जोड्नुका साथै उनीहरुमा आत्मनिर्भरता र सृजनशीलता विकास गर्न मद्दत पुगेको उहाँको भनाई छ । बाँसका सामान बिक्रीवाट भएको रकम विद्यार्थी र विद्यालयको आयआर्जनसंग जोडिने गरेको विद्यालयका प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिनुभयो ।
स्थानीय स्रोत, सीप र सिर्जनालाई प्राथमिकता दिने यस्तो अभ्यासले एकातिर आयातित वस्तुमा निर्भरता घटाउने संकेत दिएको छ भने अर्कोतर्पm विद्यार्थीको प्रतिभा उजागर गर्ने अवसर समेत सिर्जना गरेको प्रशिक्षक कमल आचार्य बताउनु हुन्छ । तालिममा २५ जना विद्यार्थीको सहभागिता रहँदै आएको छ ।
यस घटनाले औपचारिक कार्यक्रममा प्रयोग हुने उपहारको परम्परामा नयाँ सोच र दिशाको संकेत गर्दै स्थानीय उत्पादन, स्थानीय सम्मान भन्ने सन्देश प्रवाह गरेको उहाँको भनाई छ ।
तपाईको प्रतिक्रिया