पोखरा एक्सप्रेस ,पोखरा ।
पोखराका जुस पसल अस्वस्थ भेटिएका छन् । गत सोमबार लेकसाइडस्थित फ्रेस जुस पसलबाट जुस पिएका ४ जना बिरामी परेपछि जिल्ला अनुगमन समितिले यहाँका जुस पसलमा अनुगमनलाई तीव्र पारेको छ । उक्त पसललाई ५० हजार जरिमाना गरिएको थियो ।त्यसपछि नियमित रूपमा अन्य क्षेत्रका पसलमा पनि अनुगमन भैरहेको छ । बिहीबार राष्ट्र बैंक चोक र शहीद चोकका विभिन्न ७ वटा जुस पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा एक-दुई वटा बाहेक सबैजसो जुस पसलमा सरसफाइ नभएको, व्यवसाय दर्ता नगरेको, नवीकरण नगरेको, नापतौल दर्ता नगरेको पाइएको छ ।
तीमध्ये राष्ट्र बैंक चोकका २ वटा र शहीदचोकको एउटा जुस पसललाई ५० हजार रुपैयाँ दरले जरिमाना गरिएको छ । सरसफाइ नभएको र पसल दर्ता नभएका जुस पसललाई ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशनसमेत दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।जिल्ला अनुगमन समितिले नियमित रूपमा जुस पसल लक्षित अनुगमन गरिरहेको उनले बताए । ‘नागरिकको स्वास्थ्यमा असर पर्ने धेरै गतिविधि जुस पसलमा भएका छन् । अनुगमन गरेर तिनलाई कारबाही पनि गरिरहेका छौँ,’ उनले भने, ‘अनुगमन अझै तीव्र बनाइन्छ ।’ अनुगमनमा जिल्ला प्रशासन कार्यालयसहित नापतौल कार्यालय, आन्तरिक राजस्व कार्यालय, पोखरा महानगरपालिका, उपभोक्ता मञ्च, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सहभागी थिए ।
तपाईको प्रतिक्रिया