नियम विपरीत फेवातालमा सञ्चालित जलपर्यटन गतिविधिमा प्रशासनले बढायो निगरानी
- Pokhara Express
- २०८३ बैशाख २१ सोमबार
पोेखरा एक्सप्रेस ,पोखरा ।
पर्यटकीय शहर पोखराको फेवाताल क्षेत्रमा सञ्चालनमा रहेका जलपर्यटन व्यवसायहरू अव्यवस्थित र असुरक्षित ढंगले सञ्चालन भइरहेको गुनासो बढेपछि सम्बन्धित निकायले संयुक्त अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पोखरा महानगरपालिका तथा स्थानीय सञ्चारकर्मीहरूको सहभागितामा पोखरा–६ को बाराहीघाटदेखि गैह्राकोचौतारासम्म सञ्चालनमा रहेका २३ वटा जलपर्यटन व्यवसायहरूको स्थलगत अनुगमन सम्पन्न गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवत्ता शिव लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनुगमनका क्रममा कतिपय व्यवसाय दर्ता बिना सञ्चालनमा रहेको, सेवा शुल्कको स्पष्ट मूल्य सूची नराखिएको, मूल्यमा एकरूपता नभएको, विल बिजक जारी नगरेको तथा सेवाग्राहीको बीमा नगरिएको पाइएको टोलीले जनाएको छ । साथै, सुरक्षा मापदण्डको पर्याप्त पालना नगर्दा बेला–बेला दुर्घटना हुने र उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको विषय पनि अनुगमनका क्रममा उठाइएको थियो ।
लम्सालले भन्नुभयो “फेवातालजस्तो संवेदनशील पर्यटकीय क्षेत्रमा सञ्चालन हुने जलपर्यटन व्यवसायले न्यूनतम कानुनी र सुरक्षा मापदण्ड पालना नगर्नु गम्भीर विषय हो । अब कडाइका साथ नियमन गरिनेछ ।”
त्यस्तै, पोखरा महानगरपालिकाका वडा ६ का अध्यक्ष विष्णुबहादुर भट्टराइले कानुनी प्रक्रियाबाट व्यवसाय सञ्चालन गर्दै पर्यावरणीय सन्तुलन र तालको स्वच्छता जोगाउन व्यवसायीहरू जिम्मेवार बन्नुपर्ने बताउनुभयो । “पर्यटन प्रवद्र्धनका गतिविधि गरिरहँदा कानुनी प्रक्रिया सहित सुरक्षा पनि उत्तिकै महत्वपूर्ण हुन्छ, गैह्रकानुनी र अव्यवस्थित गतिविधिले दीर्घकालीन असर पार्न सक्छ,” उहाँले अहिले जम्मा ५ वटा मात्र वडा नं ६ मा दर्ता भएको जनाउँदै एउटा कम्पनिले कति वटा सम्म चलाउन पाउने भन्ने स्पष्ट कार्यविधिको अभाव रहेको बताउनुभयो । “फेवातालमा २ सय बढी कायकिङ चलिरहेका छन् । एउटा कम्पनीले कति वटा चलाउन पाउने स्पष्ट कार्यविधि बनेको छैन ।” स्थानीय सरकारको आँखा छलेर फेवातालमा जलपर्यटन सम्बन्धि गतिविधि निकै बढेको जनाउँदै यसलाई कार्यविधि बनाएर व्यवस्थीत गर्न ढिला गर्न नहुने र यो महानगरबाट छिटो हुनुपर्ने उहाँको भनाइ छ ।
प्याडल नेपालका म्यानेजर सुरेश गुरुङले आफुहरु नियम भित्र रहेर नै व्यवसाय गरेको बताउनुभयो । “हामीले सरकारका विभिन्न निकायमा दर्ता गरेर प्रक्रियागत रुपबाटनै चलाइरहेका छौ, यदि कहिकतै कमिकमजोरी भएको छ, भने त्यसलाई पुन सच्चाएर जान हामी तयार छौ ।” उहाँले भन्नुभयो “हामी पनि सुरक्षित र व्यवस्थित सेवा दिन चाहन्छौं, तर आवश्यक तालिम र सहजीकरणमा राज्यको पनि साथ चाहिन्छ ।” उहाँले पोखरा महानगरले स्पष्ट कार्यविधि तयार नगर्दा व्यवसाय सञ्चालन गर्नेहरुलाई समस्या भएको जनाउँदै अव्यवस्थित र मापदण्ड वेगरका सञ्चालित कायाकिङ लगायतका गतिविधिहरुमा आफुहरुले समर्थन नगरेको उहाँको भनाइ छ । “राज्यको नियम भित्र रहेर व्यवसाय गर्न सबैले पाउनु पर्छ, त्यसका लागि सम्बन्धित निकायले स्पष्ट पार्नुपर्छ, हामी मान्न तयार छौ ।”
फेवाताल क्षेत्रमा पछिल्लो समय कायाकिङ, बोटिङ, सर्फिङ जस्ता जलपर्यटन गतिविधि बढ्दै गएका छन्। यस्ता गतिविधिलाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन सम्बन्धित निकायको सक्रियता आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।
अनुगमन टोलीले सबै व्यवसायीलाई आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यलयमा उपस्थित हुन निर्देशन दिएको छ ।
तस्बिर उपलब्ध छ ।
पोखराको फेवाताल क्षेत्रमा सञ्चालमा रहेका जलपर्यटन सम्बन्धि गतिविधिको अनुगमन गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवम प्रवक्ता शिव लम्साल सहितको टोली
तपाईको प्रतिक्रिया