सहकारीहरू अर्थतन्त्रका बलियो खम्बा – मन्त्री कार्की
- Pokhara Express
- २०८३ बैशाख ३ बिहीबार
पोखरा एक्सप्रेस ,पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्त कृषि ,भुमी ब्यबस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले सहकारी क्षेत्रलाई अर्थतन्त्रको बलियो खम्बाका रूपमा व्याख्या गर्दै यसको सुदृढीकरणका लागि सरकार र सहकारीबीच सहकार्य आवश्यक रहेको बताएका छन् । सहकारीको समग्र अवस्था, नियामकीय मापदण्(डको कार्यान्वय र निर्देशन सम्वन्धमा प्रदेश स्तरीय तालिम तथा अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले सरकारले सहकारीलाई आर्थिक क्षेत्रको एक मुख्य आधार स्तम्भको रुपमा लिएको बताए । पछिल्लो समय सहकारीमा नकारात्मक क्रियाकलाप भएको प्रति चिन्ता व्यक्त गर्दै सबै सहकारी खराब नभएको उनको भनाई थियो । उनले केही सहकारीका कारण सबै सहकारीको आरोप खेप्नुपरेको प्रति चिन्ता व्यक्त गरे । सहकारी क्षेत्र थप ब्यबस्थित र मर्यादित बनाउने आफ्नो संकल्प भएको बताउँर्दै मन्त्री कार्कीले आफुले सबैका सुझाव समेटेर कार्य योजना निर्माण गर्ने र सोही अनुरुपका नीति तथा कार्यक्रम तयार गर्ने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा खगराज शर्माले सहकारी क्षेत्र नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । उनले ग्रामिण घरपरिवारलाई समेट्दै महिला सशक्तीकरण र सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान दिएको बताए । केही सहकारी संस्थामा समस्या देखिएको स्वीकार गर्दै उनले सुशासन र पारदर्शिता सुनिश्चित गर्न सहकारी विभाग र नियमन प्राधिकरणको भूमिका अझ स्पष्ट हुनुपर्नेमा जोड दिए ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आयोजनामा आजदेखि सुरु भएको प्रदेश स्तरीय अभिमुखीकरणमा गण्डकीका ११ वटै जिल्लाबाट सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको सहकारी रजिस्ट्रारको कार्यालग गण्डकीका प्रतिनिधि भेषराज रिजालले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्य रमेश प्रसाद चौलागाईले सहकारीका बारेमा बोलेका थिए । दुई दिनसम्म चल्ने तालिममा सहकारीको नियमन व्यवस्था र सहकारीमा सुशासन, सहकारी क्षेत्रमा सुपरिवेक्षण अवस्था, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण, सहकारीमा वित्तिय श्रोत संकलन , लगानी र ऋण असुली सहकारी क्षेत्रमा सम्पत्ति शुद्धीकरणलगायत विषयमा अभिकरण दिइने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया