स्थानीय तहले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ- एमाले उपमहासचिव ज्ञवाली
- Pokhara Express
- २०८२ असार २१ शनिवार
२१ असार ,पाल्पा। नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउनुपर्ने बताएका छन्।
प्रेस चौतारी नेपाल पाल्पाको शनिबार तानसेनमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा मौलिक हकका रूपमा रहेको शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउनुपर्ने बताएका हुन्।
´जनताको पढाई र उपचारको खर्च निशुल्क बनाउनुपर्छ` उनले भने ´स्थानीय सरकारले प्राथमिकता दिनुपर्छ।` स्थानीय तहले नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई बढी महत्त्व दिनुपर्नेछ। निशुल्क बनाउने अभियान नै संचालन गर्नुपर्ने ज्ञवालीले बताए।
शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउन सके भ्रष्टाचार रोकिन्छ। गरिब तथा विपन्न परिवारलाई राहत मिल्छ। पढ्न र उपचारमा खर्च गर्न नपरेपछि आम जनताको जिविकोपार्जनमा सहज हुने उनले बताए। आवश्यकताको आधारमा शिक्षालाई पूर्ण वा अर्ध भएपनि आवासीय बनाउने गरी नीति बनाउने सुझाए।
संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि विकासले फड्को मारेको उनले दाबी गरे। ९७ प्रतिशत घरमा बिजुली पुगिसकेको छ। ९५ प्रतिशत भन्दा बढी जनताको घरमा खानेपानीका धारा पुगेको छ। ७५३ मध्ये अधिकांश स्थानीय पालिकाको टोलटोलमा सडक पुगेको उनले बताए।
अहिले नकारात्मक प्रचार मात्रै हुने गरेको छ। जनतालाई केही भएन भनेर निराशा बनाउने काम भएको उनले बताए। भए गरेका विकास निर्माणका कामको सकारात्मक प्रचारप्रसार गर्न पत्रकारलाई आग्रह गरे।
ब्रेकिङ न्युजको हतारमा सत्य समाचार ओझेलमा परेको उनले बताए। सामाजिक संजालको दुरुपयोगले सत्य समाचारबाट जनता बन्चित हुनुपरेको छ। पत्रकारले यस्ता विषयमा विशेष ध्यान दिनुपर्ने ज्ञवालीले बताए।
देशको अर्थतन्त्र संकटले सञ्चार जगत पनि समस्यामा परेको उनले बताए। श्रमजीवी पत्रकार र सञ्चार माध्यमलाई सवल बनाउने काममा तीन तहकै सरकारले ध्यान दिन आवश्यक रहेको नेता ज्ञवालीले बताए।
कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा क्षेत्र नम्बर २ का सांसद ठाकुर गैरे, क्षेत्र नम्बर १ का सांसद नारायण आचार्य, प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारू, प्रदेश सांसद इन्द्राकुमारी गहतराज, नेकपा एमालेबाट निर्वाचित पाल्पाका स्थानीय तहका अध्यक्ष उपाध्यक्ष, पार्टीका अध्यक्ष तथा प्रतिनिधि र प्रेस चौतारीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
बैठकमा जिल्लाको समग्र विकास र चौतारीको आगामी कार्ययोजनाका बारेमा छ्लफल भएको प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीले बताए।
तपाईको प्रतिक्रिया