पोखरा २८ वैशाखः पोखरा पर्यटन परिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्रीप्रसाद पाण्डे समक्ष नेपाल पर्यटन बोर्डमा पोखराबाट कार्यकारी सदस्यमा प्रतिनिधित्व गराउन आवश्यक पहल गरिदिन आग्रह गरिएको छ।
नेपालको पर्यटकिय राजधानी घोषणा भइसकेको पोखराले हालै पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरी विभिन्न कार्यक्रमहरू अगाडि सारेको सन्दर्भमा, विशेष अनुरोध गरेको छ।परिषदका अध्यक्ष तारानाथ पहारीले पठाएको पत्रमा पर्यटन क्षेत्रको प्रवद्र्धन, रोजगारी सिर्जना, र विदेशी मुद्रा आर्जनका लागि पोखराले खेलिरहेको भूमिकालाई स्मरण गराउँदै, नेपाल पर्यटन बोर्डमा पोखराबाट प्रतिनिधित्व गराउन आवश्यक पहल गरिदिन आग्रह गरिएको छ।
हाल बोर्डमा कार्यकारी सदस्य पद रिक्त हुन लागेको अवस्थामा पोखराबाट प्रत्यक्ष रूपमा निजी लगानी गरी पर्यटन व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूमध्येबाट प्रतिनिधि चयन गरिनु पर्ने माग गरिएको छ।
“६ खर्बभन्दा बढी निजी क्षेत्रको लगानी रहेको पोखराबाट नेपाल पर्यटन बोर्डमा प्रतिनिधित्व नरहेको वर्तमान अवस्थामा, देशकै पर्यटकिय राजधानीका रुपमा घोषणा भइसकेको पोखराको सशक्त प्रतिनिधित्व सुनिश्चित हुनु अत्यावश्यक छ,“ पत्रमा भनिएको छ।
परिषदले मन्त्री पाण्डेको कार्यकालमा पर्यटन विकास र विस्तारको दिशामा देखिएको सक्रियतालाई सराहना गर्दै, आगामी निर्णयहरूबाट थप प्रेरणा र ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया