दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
- Pokhara Express
- २०८३ असार २१ आइतबार
प्रतियोगितामा जुनियर ‘ए’ समूहको उपाधि इसानी आले मगर, जुनियर ‘बी’ समूहको उपाधि कृपा गुरुङ र सिनियर समूहको उपाधि लाजिमा राईले जित्दै जनही ७० हजार रुपैयाँ नगद, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको मूल्याङ्कन निर्णायकको ७० प्रतिशत र अनलाइन भोटिङको ३० प्रतिशत अंकका आधारमा गरिएको थियो। प्रतियोगिताका निर्णायक संयोजक वरिष्ठ नृत्य निर्देशक कमल राई रहेका थिए भने निर्णायक सदस्यमा रविता मगर र समर्पण लामा रहेका थिए। बी टु डी डान्स स्कुलका संस्थापक अमन तामाङका अनुसार पारदर्शी र निष्पक्ष मूल्याङ्कन प्रणालीमार्फत विजेता छनोट गरिएको हो । जुनियर ‘ए’ समूहमा नेरिसा गुरुङ फस्ट रनर्सअप, प्रान्सी बास्तोला सेकेन्ड रनर्सअप, एलिना नेपाली थर्ड रनर्सअप तथा दीपशिखा राई फोर्थ रनर्सअप बने । नेरिसाले पपुलर अवार्ड पनि हात पारिन् ।
त्यसैगरी जुनियर ‘बी’ समूहमा स्रिमन मगर फस्ट रनर्सअप, प्रिया गुरुङ सेकेन्ड रनर्सअप, योजना गुरुङ थर्ड रनर्सअप र जेनिशा शर्मा फोर्थ रनर्सअप घोषित भए ।
सिनियर समूहमा नयन बराइली फस्ट रनर्सअप, आश्रीया केसी सेकेन्ड रनर्सअप, शिखा जिम्बा तामाङ थर्ड रनर्सअप तथा एन्जिल केसी फोर्थ रनर्सअप बन्न सफल भए ।
प्रतियोगितामा तीनवटै विधाका फस्ट रनर्सअपले जनही ३० हजार रुपैयाँ, सेकेन्ड रनर्सअपले २० हजार रुपैयाँ तथा थर्ड रनर्सअपले १० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । यसैगरी सुजन्नी ल्वागुन, सृष्टी आले मगर र एन्जिल केसीले एभेन्टोज अवार्ड प्राप्त गरे ।
ग्राण्ड फिनालेमा प्रतियोगीहरूको उत्कृष्ट नृत्य प्रस्तुतिसँगै अतिथि कलाकार तथा विभिन्न कलाकारहरूको विशेष सांस्कृतिक नृत्य प्रस्तुति पनि आकर्षणको केन्द्र बनेको थियो। कार्यक्रमभर दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो भने सहभागीहरूले नेपाली नृत्यकला र प्रतिभाको उत्कृष्ट प्रदर्शन गरेका थिए ।
आयोजकका अनुसार ‘नृत्य संग्राम’ मार्फत नयाँ पुस्ताका नृत्य प्रतिभाको खोजी, प्रोत्साहन र उनीहरूलाई राष्ट्रिय स्तरसम्म अघि बढाउने उद्देश्य राखिएको छ। प्रतियोगिताले पोखरामा नृत्य संस्कृतिको विकास तथा युवा कलाकारलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने प्रभावकारी मञ्च प्रदान गरेको आयोजकको विश्वास रहेको छ । कार्यक्रमको सञ्चालन शैलताज कुवँरले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया