पोखरा एक्सप्रेस ,रसुवा।
बेलीब्रिज परीक्षणका लागि असार १५ गतेदेखि रोकिएका सवारीसाधन केरुङतर्फ आउजाउ गर्न थालेका छन्। चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट सवारीसाधन सञ्चालन हुन थालेका हुन्।
नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आवागमन दुई दिनका लागि रोकिने भनिएकामा पुल परीक्षण गरी चार दिनपछि सञ्चालनमा ल्याइएको हो।
गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवतजावतका लागि बेलीब्रिज निर्माण गरिएको थियो। उक्त बेलीब्रिज वर्षायामका लागि उपयुक्त छ÷छैन भन्ने परीक्षणका लागि चिनियाँ पक्षले सवारी सञ्चालनमा रोक लगाएको थियो।
पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी सवारीसाधन आवागमन हुन थालेको इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ। पुलको परीक्षण गर्नुका साथै नटलाई पुनः कस्ने काम सम्पन्न गरेपछि सामान आयातका लागि २२ वटा कन्टेनरसहित साना तथा ठूला सवारीसाधन आजैदेखि केरुङ गएको जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए।
चीनबाट स्याउ, सुन्तला, अंगुुर, ड्राइगनफ्रुट बोकेका सानाठूला ३३ वटा सवारीसाधन नेपाल भित्रिएको प्रहरी प्रमुख थापाले जानकारी दिए। पुलको क्षमतालाई दृष्टिगत गर्दै १४ फिटभन्दा माथि उचाइ भएका सामान ल्याउने सवारीसाधन सञ्चालन गर्न नमिल्ने चिनियाँ प्राविधिकले बताएकाले सोहीअनुसार सचेत रहन सरोकारवालालाई उनले आग्रह गरे।
उनका अनुसार नेपाल र चीनतर्फका दुवै भागमा १४ फिट लामो डन्डी गाडिएको छ। सो डन्डीभन्दा अग्लो लोड गरी सामान ल्याउन वा लान नमिल्ने चिनियाँ प्राविधिकले सूचनामार्फत जानकारी दिएका छन्।
पुलबाट सवारीसाधन सञ्चालन हुन थालेसँगै सामग्री आयात सहज हुन थालेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले बताए। उनका अनुसार परीक्षणका लागि केही सवारीसाधन भन्सार हातामा पुगेका छन्।–रासस
तपाईको प्रतिक्रिया