पोखरा एक्सप्रेस ,पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ३२ को आयोजनामा ब्रह्म रूपा माध्यमिक विद्यालयमा एकदिने लागूऔषध नियन्त्रण, ट्राफिक सचेतना तथा साइबर अपराध सम्बन्धी समुदाय–विद्यालय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।र्यक्रममा सुरक्षित सडक प्रयोग, साइबर सुरक्षाको महत्त्व तथा लागूऔषध दुव्र्यसनका असरबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।
पोखरा महानगरपालिका–३२ को वडा कार्यालयको समन्वय तथा प्रदेश ट्राफिक कार्यालय गण्डकी र इलाका प्रहरी कार्यालय शिशुवाको सहकार्यमा सञ्चालन गरिएको यो अभियान असार १२ गतेदेखि १९ गतेसम्म वडा क्षेत्रभित्र रहेका करिब १० वटा विद्यालय, विभिन्न टोल सुधार समिति तथा बाल क्लबहरूमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रहरी नायब निरीक्षक मोहन विकले ट्राफिक नियमको पालना, सडक सुरक्षाका उपाय तथा बढ्दो साइबर अपराधबाट बच्ने उपायका बारेमा प्रशिक्षण दिएका थिए। त्यसैगरी प्रहरी सहायक निरीक्षक प्रवीन दर्जी र प्रहरी जवान विशाल बोहोराले लागूऔषध तथा मादक पदार्थ दुव्र्यसनका कारण, त्यसबाट हुने शारीरिक, मानसिक र सामाजिक असर, कानुनी व्यवस्था तथा दण्ड–सजायका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, वडा शिक्षा समितिका संयोजक नगेन्द्र प्रसाद रेग्मी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
वक्ताहरूले लागूऔषध, मादक पदार्थ दुव्र्यसन, ट्राफिक दुर्घटना तथा साइबर अपराधजस्ता सामाजिक चुनौतीहरूको न्यूनीकरणका लागि नेपाल प्रहरी, स्थानीय तह, विद्यालय, अभिभावक, समुदाय, सामाजिक संस्था र सञ्चारमाध्यमबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।
विद्यालय तहबाटै सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यस्तो अभियानले विद्यार्थीमा जिम्मेवार नागरिक बन्ने संस्कार विकास गर्नुका साथै सुरक्षित, अनुशासित र लागूऔषधमुक्त समाज निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
तपाईको प्रतिक्रिया