पोखरा एक्सप्रेस ,पोखरा ।
पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने तयारीमा रहेका विद्यार्थीहरूलाई बुधवार (२०८२/११/१३) बिदाइ तथा शुभकामना कार्यक्रम गरिएको छ ।
कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा भएको कार्यक्रम सोही कक्षाका विद्यार्थी सन्दिप विकको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाले कालिकाले विद्यार्थीको हितका लागि प्रयास गर्दै आएको बताए । उनले गत वर्षहरूमा कालिकाले कायम गरेको एसइईको उत्कृष्ट नतिजालाई थप सुधार गर्नका लागि विद्यार्थीहरूलाई शुभकामना दिए ।
विशेष अतिथि शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्माले एसइईपछि विद्यार्थीहरूको नयाँ जीवन सुरु हुने भन्दै नयाँ जीवनलाई नयाँ ढङ्गले सुरु गर्नका लागि विशेष मिहिनेत गर्न सुझाव दिए ।
विद्यालयकी सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरले शिक्षक र विद्यालयले विद्यार्थीको हितका लागि गरेको प्रयासलाई सार्थक बनाउन विद्यार्थीहरूको विशेष भूमिका रहने बताइन् ।
कक्षा १० की छात्रा सफला सुनारले विद्यालय दिएको वातावरण अविस्मरणीय रहने बताउँदै विद्यालयले गरेको मार्गदर्शनले जीवनभर प्रेरणा दिने बताइन् ।
कक्षा ९ की छात्रा कृतिका केसीको सञ्चालनमा भएको कार्यक्रममा कक्षाकी छात्रा प्रेमिका तामाङले स्वागत गरेकी थिइन् । यस वर्ष कालिका माविबाट १३ जना सहभागी हुँदै छन् ।
तपाईको प्रतिक्रिया