अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै, ६ वटा आईटी व्यवसाय र युवा उद्यमीलाई पुरस्कृत गरिने
- Pokhara Express
- २०८३ श्रावाण २७ बुधबार
पोखरा एक्सप्रेस ,काठमाडौं।
विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै छ। यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकांक्षा’ रहेको छ। युवाको भूमिकाको महत्त्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् २००० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाइँदै आएको छ।
अन्तरराष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ। यस्तै, साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवामैत्री शासन प्रवर्द्धन गर्ने सहयोग गर्ने, युवा केन्द्रित सरकारी, गैरसरकारी, निजी संस्था÷निकायबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको छ।
दिवस अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिनेछ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसम्बन्धी प्रदर्शनी गरिँदै छ।बिहान भृकुटीमण्डपदेखि मूल समारोहस्थल कमलादीसम्म युवा जागरण दौड आयोजना हुँदै छ। मूल समारोहमा नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवर्द्धन विषयमा उच्चस्तरीय प्यानल छलफल आयोजना गरिएको छ।
यो दिवस युवा जागरणका दिशामा विश्वव्यापी र साझा अभियान हो। यस दिवसले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता र साझेदारी बढाउने प्ररेणा दिएको छ। सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता र पारस्परिकता प्रवद्र्धनमा सबैलाई हातेमालो गर्दै अघि बढ्ने संकल्पसमेत दिवसका अवसरमा व्यक्त हुँदै आएको छ।
दिवस अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न ६ वटा व्यवसायलाई पुरस्कृत गरिँदै छ। यस्तै, सातै प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ।राष्ट्रिय युवा परिषद् अध्यक्ष एवं युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा यही साउन १ गते बसेको बैठकले अन्तरराष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या एक करोड २४ लाख १२ हजार १७३ जना अर्थात् कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत छ। युवा अवस्थालाई मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर–समूहका रूपमा लिइन्छ
तपाईको प्रतिक्रिया