अमेरिकी दूतावासको ‘उद्यमशीलता सीप विकास कार्यक्रम–क्यापस्टोनमा उत्कृष्ट २० उद्यमीमा पोखराका कमल पराजुली
- Pokhara Express
- २०८३ श्रावाण २७ बुधबार
पोखरा एक्सप्रेस ,काठमाडौं ।
पोखराका कमलराज पराजुली देशभरका उत्कृष्ट २० उद्यमीको सूचीमा पर्न सफल भएका छन् । अमेरिकी दूतावासको सहयोगमा सञ्चालित ‘उद्यमशीलता सीप विकास कार्यक्रम–क्यापस्टोन एक्सेलेरेटर’ अन्तर्गत उनी छनोट भएका हुन् । पराजुलीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै काठमाडौंमा भएको तीन दिने आवासीय कार्यक्रममा सहभागिता जनाएका थिए ।
उनी नेपालमा उत्पादित वस्तुलाई डिजिटल बजारसँग जोड्ने ‘साइनो मार्केटप्लेस’ का व्यवसाय विकास प्रमुख हुन् । देशभरबाट प्राप्त ८ सय भन्दा बढी आवेदनमध्येबाट उनी उत्कृष्ट २० को सूचीमा अटाएका हुन् । यसअघि सातै प्रदेशका २ सय भन्दा बढी उद्यमीलाई क्षेत्रीयस्तरमा प्रशिक्षण दिइएको थियो । पराजुलीले नेपाली उत्पादनलाई विश्वका प्रमुख सहरमा पु¥याउने योजना राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका छन् ।
उनले नेपाली हस्तकला र स्थानीय उत्पादनका लागि साझा खुद्रा बिक्री केन्द्र स्थापना गर्ने दीर्घकालीन लक्ष्य राखेका छन् । ‘नेपालमा उत्कृष्ट वस्तु बनाउने साना उद्यमीका लागि सही बजारसम्म पुग्नु ठूलो चुनौती हो,’ उनले भने । साइनोमार्फत त्यो दूरी कम गर्दै नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्याउने साझा बाटो बनाउन चाहेको उनले बताए ।
अहिले साइनो मार्केटप्लेसले १ सय भन्दा बढी नेपाली उत्पादक र हस्तकलाकर्मीलाई बजारसँग जोडेको छ । साना उद्यमीका लागि डिजिटल पहुँच र ग्राहक सञ्जाल उपलब्ध गराउनु यसको मुख्य उद्देश्य रहेको उनले बताए । नेपालका साना उद्यमीका लागि यो मञ्चले दिगो बजार सिर्जना गर्ने पराजुलीको दाबी छ । उनले बजार विस्तार र अन्तर्राष्ट्रिय साझेदारीका लागि नयाँ रणनीति समेत प्रस्तुत गरेका छन् ।
अमेरिकी दूतावासका पब्लिक अफेयर्स चीफ माइक हार्करले यो कार्यक्रमले दुई देशबीचको आर्थिक साझेदारी बलियो बनाउने बताए । नवीन सोच भएका उद्यमीमा लगानी गरेर निजी क्षेत्रको सहकार्य सुदृढ बनाउन खोजिएको उनको भनाइ छ । नेपालको आर्थिक विकास र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन नयाँ पुस्ताका उद्यमीलाई सहयोग गरेको उनले बताए ।
कार्यक्रमको अन्तिम दिन उद्यमीहरूले लगानीकर्ता र विज्ञहरूका बीचमा आफ्नो व्यवसायिक योजना प्रस्तुत गरेका थिए । पराजुलीले साइनोको डिजिटल बजार प्रणाली र अन्तर्राष्ट्रिय बजार विस्तारको योजना सुनाएका थिए । सहभागीहरूले आफ्ना उत्पादनलाई प्रविधिमैत्री र लगानीयोग्य बनाउन विज्ञहरूबाट व्यावहारिक सुझाव प्राप्त गरे । उद्यमीहरूलाई निर्यात तयारी र कृत्रिम बुद्धिमत्ताको प्रयोगबारे विशेष प्रशिक्षण दिइएको थियो ।यो कार्यक्रम इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट र आद्यन्त एडभाइजरीको नेतृत्वमा सम्पन्न भएको हो । यसमा अमेरिकी वाणिज्य संघ र द ग्लोबल इम्प्याक्ट कलेक्टिभले साझेदारी गरेका छन् । कार्यक्रमले नेपालका सातै प्रदेशका उद्यमीलाई व्यवसाय विस्तारका लागि आवश्यक ज्ञान र सञ्जाल उपलब्ध गराएको छ । छनोट भएका उद्यमीहरू कृषि, सूचना प्रविधि, हस्तकला र सामाजिक उद्यम लगायतका क्षेत्रमा सक्रिय छन् ।
तपाईको प्रतिक्रिया