टान गण्डकीद्वारा नेपाल पर्यटन बोर्डका निर्देशक लामिछानेलाई स्वागत
- Pokhara Express
- २०८१ फागुन ५ सोमबार

पोखरा ५ फागुन ः नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका नवनियुक्त निर्देशक मणिराज लामिछानेलाई ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीले स्वागत गरेको छ।उनीसँगै वरिष्ठ अधिकृत युवराज गुरुङ र लेखा अधिकृत सागर श्रेष्ठलाई पनि टान गण्डकीले सोमबार स्वागत गरेको हो।
स्वागत तथा परिचयात्मक कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका नवनियुक्त निर्देशक लामिछानेले नेपाल पर्यटन बोर्ड टानसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा नयाँ योजनाहरू लागू गर्न प्रतिबद्ध रहेको बताए। उनले नेपाल पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्दै यसको सही व्यवस्थापन र दीर्घकालीन रणनीति बिना दिगो पर्यटन सम्भव नभएको धारणा व्यक्त गरे।”हामी टानलगायत सम्पूर्ण पर्यटन व्यवसायीसँग सहकार्य गर्दै नयाँ पर्यटन गन्तव्यहरूको पहिचान, पदमार्गहरूको संरक्षण तथा सुधार, डिजिटल प्रवर्द्धन, र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धनका लागि काम गर्नेछौं,” उनले भने, “पर्यटन क्षेत्रका चुनौतीहरू राम्ररी बुझेका छौं, त्यसैले टान गण्डकीसहित सबै निकायसँग हातेमालो गर्दै काम गर्न प्रतिबद्ध छौं।”
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालमा पर्यटन प्रवर्द्धनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए। उनले भने, “नेपालको पर्यटनलाई दिगो र समृद्ध बनाउन प्रवर्द्धनमात्रै होइन, योजनाबद्ध रूपमा दीर्घकालीन रणनीति अपनाउनु आवश्यक छ।”
उनले ट्रेकिङ, साहसिक खेलकुद, सांस्कृतिक पर्यटन, ग्रामीण पर्यटन तथा नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रचार-प्रसार गर्न आवश्यक रहेको बताए। यसका लागि नेपाल पर्यटन बोर्ड, टान, र अन्य सम्बद्ध संस्थाबीच अझ प्रभावकारी समन्वय हुनु जरुरी रहेको उनको धारणा थियो।
निजी क्षेत्रको सक्रिय सहभागिता बिना पर्यटनको समृद्धि असम्भव रहेको बताउँदै उनले सरकारबाट पनि आवश्यक नीति तथा सहयोगको अपेक्षा गरे।
टानका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदीले नेपाल पर्यटन प्रवर्द्धनको जिम्मेवारी केवल सरकारको मात्र नभएर निजी क्षेत्र, स्थानीय समुदाय, र पर्यटन व्यवसायीहरूको पनि रहेको उल्लेख गरे। उनले पर्यटन प्रवर्द्धन गर्न सरकार, पर्यटकीय संघसंस्था, स्थानीय तह, र सरोकारवाला निकायहरू सबैको योगदान आवश्यक रहेको बताए।
“नयाँ गन्तव्य पहिचान गर्न, पर्यटन क्षेत्रलाई प्रविधिसँग जोड्न, र पर्यटकहरूलाई उत्कृष्ट सेवा दिन हामी सबै एकजुट हुन जरुरी छ। पर्यटन प्रवर्द्धन भनेको केवल आगन्तुक संख्या बढाउनु मात्र होइन, उनीहरूलाई दीर्घकालसम्म यहाँ टिकाउन सक्ने वातावरण बनाउनु पनि हो,” उनले थपे।
टान गण्डकी सचिवालय लेकसाइडमा सम्पन्न कार्यक्रममा टान गण्डकीका सहसचिव भुपेन्द्रकुमार लामाले सञ्चालन गरेका थिए। कार्यक्रममा टान गण्डकीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया