स्याङ्जाका एक किसानले दसैं तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गर्न सफल भएका हुन् ।
उनले दसैं तथा तिहारका अवधिमा माला एकहजार आठ सय ४५ गोटा र फूल एक हजार तीन सय ७६ केजी बिक्री गरेका हुन् । फूल बिक्रीबाट तीन लाख ४४ हजार र माला बिक्रीबाट एक लाख ४७ हजार ६०० गरी कूल चार लाख ९१ हजार ६०० आम्दानी गरेको उनले बताए ।भण्डारीले फूलका थुंगा प्रतिकेजी रु दुई सय ५० देखि तीन सय र माला प्रतिगोटा रु एक सय ५० सम्म बिक्री गरेका हुन् । यहाँ उत्पादन भएको फूल तथा माला भैरहवा, नारायणगढ, बर्दघाटलगायतका बजार तथा स्थानीयस्तरमा पनि खपत भएको उनले बताए ।
“माग भएअनुसार माला तथा फूल उपलब्ध गराउन सकेनौंँ” उनले भने, “सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौंँ ।” बोटमा फूल फूल्ने क्रम जारी रहेको र मङ्सिरको महिनाभर उत्पादन लिन सकिने उनले बताए । यहाँ उत्पादन भएको फूलको माग भैरहवाबाट आएकाले केही दिनमै पठाउने तयारी भएको ब्यवसायी भण्डारीका छोरा रामचन्द्र भण्डारीले बताए ।
तपाईको प्रतिक्रिया