चालीस रोपनी जग्गामा सयपत्री फूलखेती
- Pokhara Express
- २०८१ कातिर्क ६ मङ्गलबार

तनहुँ । सयपत्री फूलखेतीमा तनहुँका किसान आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । सयपत्री फूलखेतीलाई स्थानीय तहले पनि सहयोग गर्न थालेको छ । म्याग्देका तीन जनाले युवाले यसै वर्षदेखि पहिलोपटक सयपत्री फूलखेती सुरु गरेका छन् । म्याग्दे गाउँपालिका–६ धैरेनीमा साढे दुई रोपनी जग्गामा स्थानीय युवा अक्षय श्रेष्ठ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले सयपत्री फूलखेती गरेका हुन्।
म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलोपटक सयपत्री फूलखेती सुरु गरिएको अक्षयले बताए । सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको छ । उनले भने, “तिहारका बेला फूल बाहिरबाट ल्याउन नपरोस् भनेर हामी तीन जना युवा मिलेर पहिलोपटक सयपत्री फूलखेती गरेका हौँ ।”
यहाँ लगाइएको फूल उत्पादन हुन सुरु गरिसकेको छ । अक्षयका अनुसार दुई हजार पाँच सय फूल लगाइएको थियो । उनले भने “तिहारका बेला स्थानीयस्तरमै फूलको माग हुन्छ । पोखरामा पनि सम्पर्क भइरहेको छ ।”शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मञ्जु श्रेष्ठले पनि विगत दुई वर्षदेखि फूलखेती गर्दै आएकी छिन् । गत वर्ष कलकत्ते प्रजातिका फूल लगाएकी उनले यस वर्ष टिटी जातको फूलखेती गरिएको जानकारी दिइन् ।उनले गत वर्षको तिहार र एकादशीमा रु एक लाख बराबरको सयपत्री बिक्री गरेकी थिइन् । दुई वर्षदेखि फूलखेतीमा आबद्ध उनले मागअनुसारको फूल पुर्याउन धौधौ भएपछि व्यावसायिक रूपमा फूलखेती सुरु गरेकी थिइन् । उनले भनिन्, “पहिलोपटक उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्याउन सकिन, तिहारका बेला फूलको धेरै माग हुन्छ”, व्यवसायी मञ्जुले दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेकी छिन् ।
विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उनले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताइन् । श्रेष्ठले भनिन्, “हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो । नेपाललाई फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ ।”गाउँघरमा जग्गा बाँझै रहेकाले त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ प्रोत्साहन गर्न सरकारले सघाउनुपर्ने उनको भनाइ छ । फूलखेती गरेको बारेमा आफूले व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्दै आएको उनले सुनाइन् ।
यस्तै आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा लघुउद्यम महिला सङ्घले ४० रोपनी जग्गामा सयपत्री फूलखेती गरेको छ । अघिल्लो वर्ष २२ रोपनी क्षेत्रफलमा फूलखेती गरिएकामा स्थानीयस्तरमै फूलको माग बढी भएपछि यसपटक क्षेत्रफल विस्तार गरिएको सङ्घका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको फूलखेती गरेका छन् । महिलाहरू फूलखेतीमा आकर्षित रहेको बताउँदै उनले भनिन्, “चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका छौँ । पालिकाबाट पनि हामीलाई सहयोग भएको छ ।” घरायसी काममा मात्रै व्यस्त महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती थालिएको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया