लुम्बिनीमा फेरियो मुख्यमन्त्रीको नाम
- Pokhara Express
- २०८१ श्रावाण ७ सोमबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको लागि दाबी पेस गर्न एक घन्टा बाँकी रहँदा लीला गिरीको नाममा टिपेक्स लागेको छ।आइतबार जोखबहादुर महराले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले सोमबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए।सोहीअनुसार एमाले र नेपाली कांग्रेसले लीला गिरीको नेतृत्वमा सरकार गठन गर्ने भन्दै तयारी गरिरहेका थिए।सोमबार बिहानसम्म पनि लीला गिरी नै मुख्यमन्त्री बन्ने पक्कापक्की जस्तै थियो। एमालेका प्रमुख सचेतक तुलसी चौधरीले लीला गिरीलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पत्र तयार गर्दै थिए। तर अचानक एमाले महासचिव शंकर पोखरेलको एक फोनले लीला गिरीको नाममा टिपेक्स लागेको छ।
एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टीका महासचिव शंकर पोखरेलले फोन गर्दै चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन भनेपछि सोहीअनुसार नाम परिवर्तन गरिएको बताए। ‘यो पार्टी केन्द्रबाट आएको निर्देशन हो, बिहान महासचिव कमरेडले पार्टीको निर्णय हो चेतनारायण जीलाई मुख्यमन्त्री बनाउनुपर्यो, भनेपछि हामीले पार्टी केन्द्रको निर्देशन पालना गरेका हौं,’ उनले भने।कँडेलले अन्तिम समयमा किन लीला गिरीको नाम हटाएर चेतनारायण आचार्यको नाम सिफारिस गरियो भन्ने आफूलाई जानकारी नभएको बताए। बिहानसम्म एमाले संसदीय दलका प्रमुख सचेतक तुलसी चौधरीले सञ्चारमाध्यमहरूलाई लीला गिरीका नाममा दाबी पेस गर्ने गरी तयारी गरेको बताएका थिए। तर अचानक सोमबार सवा ११ बजे नाम परिवर्तन भएको उनले जानकारी पाए।
अर्घाखाँचीको निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचिन आचार्य लुम्बिनी प्रदेशसभामा संसदीय दलका उपनेता हुन्।आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन, लीला गिरी नेतृत्वको सरकारमा ग्रामिण खानेपानी तथा सहरी विकासमन्त्री तथा जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका थिए।‘पार्टी महासचिवले फोन गरेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यलाई बनाउनुस् भन्नु भयो हामीले महासचिवको निर्देशन पालना गरेका हौं,’ कँडेलले भने।
तपाईको प्रतिक्रिया