साउन ६ ,पोखरा
करुणा बचत तथा ऋण सहकारी पोखरा ३ मोहरियाटोलको आयोजनामा आइतबार भएको निशुल्क रक्त परीक्षण शिविरमा २ सय २५ जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा सहभागीको मधुमेह, लिपिड प्रोफाइल र मृगौलासम्बन्धी रक्त जाँच सित्तैमा गरिएको हो ।
सहकारीले १४ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहकारी र युआएलबिच सहकारीका सेयर सदस्य र कर्मचारी र उनीहरुको परिवारलाई सबै रक्तजाँचमा ३० प्रतिशत छुट दिने सम्झौतासमेत भएको छ ।
गण्डकी प्रदेशले पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले विभिन्न संघ, संस्थासँगको समन्वयमा आयोजना गरेको यो १ सय ७६ औं शिविर हो । कार्यक्रममा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले सहकारीले सेयर सदस्यप्रति उत्तरदायित्व वहन गर्दै सित्तैमा स्वास्थ्य जाँच गरिदिनु प्रशंसनीय भएको बताए ।
डा अधिकारीले आफ्नो जीवनलाई स्वस्थ बनाउन सबैभन्दा ठूलो भूमिका आफ्नै हुने विचार राखे । उनले भने, ‘खानपान, जीवनशैली सुधार्दै, बेला बेलामा नियमित जाँच गर्ने र रोग लागिहाले उचित तवरले उपचार गरे जीवन सहज, सरल र व्यवस्थित हुन्छ ।’
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले युआरएलले ११ वर्षदेखि पोखरा र आसपासका क्षेत्रमा गुणस्तरीय ल्याब सेवासँगै बेला बेलामा निशुल्क शिविरसँगै सचेतना कार्यक्रम गर्दै आएको जनाए । ‘हामी प्रदेशको पहिलो रेफरेन्स ल्याब हौं । पहिलो र अग्रणी ल्याब भएकाले त्यही अनुरुप दायित्व निर्वाहसमेत गर्दै आएका छौँ ।’ । अहिलेसम्म विभिन्न संघ, संस्थासँग सहकार्य गरी भएका शिविरबाट २ लाखभन्दा बढीले सित्तैमा सेवा पाएका छन् ।
करुणा बचतका अध्यक्ष शान्तमान बुद्धाचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भरतराज शाक्य, सचिव रेवत बज्राचार्य लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया