पोखरा ३३ मा भुलभुला देवी मन्दिरको प्रवद्र्धन गर्न नववर्ष मेला
- Pokhara Express
- २०८१ बैशाख २ आइतबार

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ पुुडिटारस्थित भुलभुला देवी मन्दिरको प्रवद्र्धन गर्न नववर्ष २०८१को अवसरमा मेला सम्पन्न भएको छ ।
भुलभुला देवी मन्दिरको परिसरमा सानो तलाउ छ जहाँ भुलभुल पानीका फोकाहरु देख्न सकिन्छ । हरेक वर्ष बैशाख संक्रान्तिका दिन मेला लाग्ने गरेको यो ठाउँमा टाढाटाढादेखि भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन् ।
भुलभुला देवीको दर्शन गर्दा संकटबाट मुक्ति पाउने अपेक्षाका साथ दर्शनार्थीहरुको भीड लाग्ने गरेको स्थानीयहरु वताउँछन्। प्राचीन समयदेखि नै रहेको मन्दिर भासिएपछि भुलभुला देवीको मन्दिर पुननिर्माणका लागि आफूहरुले जग्गा समेत उपलब्ध गराएको स्थानीय ८७ वर्षीय सम्मरबहादुर पोखरेलले वताए । हाल भुलभुला देवी मन्दिर संरक्षण समितिमार्फत काम भैरहेको छ ।
पोखरा महानगरपालिका वडा नं ३३ कार्यालयबाट भुलभुला देवी मन्दिर संरक्षण समितिलाई निर्माणका लागि विनियोजित आठ लाख ५० हजार रुपैयाँको लागतमा ट्रष्ट भवन निर्माण गरिएको छ । निर्मित ट्रष्ट भवन एक कार्यक्रमकाबीच नववर्ष २०८१को बैशाख संक्रान्तिका दिन उद्घाटन भैसकेकोको छ ।
भवनको भुलभुला देवी मेलाका अवसरमा पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गरे ।
नवनिर्मित ट्रष्ट भवन मन्दिरको नियमित पूजाआजाका साथै विभिन्न धार्मिक अनुष्ठानमा बहुउपयोगी बन्ने विश्वास लिइएको वडा अध्यक्ष अधिकारीले वताए ।
ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रुपमा प्राचीन कालदेखि पूजाआजा गरिदै आईएको भुलभुला बाराही मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न वडा कार्यालयले विभिन्न पूूर्वाधार विकासका कामलाई जोड दिदै आएको उनले वताए । वडा कार्यालयले मन्दिर नजिकै रहेको डुँडेको रहलाई पर्यटकीय रुपमा विकास गर्न समेत त्यहाँको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको वडाध्यक्ष अधिकारीले जानकारी दिए ।
नमुना युवा क्लब पुँडिटारको आयोजनामा भुलभुला देवी मेलाको अवसर पारी यही चैत २७ गतेदेखि बैशाख १ गतेसम्म दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।
विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुति रहेको मेलाको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश नेपालका अनुशासन विभाग प्रमुख रामप्रसाद ढकालले सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया