पोखरा एक्सप्रेस ,कास्की।
गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ भित्रै प्रदेशलाई ‘उज्यालो गण्डकी’ घोषणा गर्ने लक्ष्यअनुसार बिजुली नपुगेका वस्तीको विवरण माग गरेको छ।
प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय आज सूचना जारी गर्दै गण्डकीभित्रका सबै घरधुरीमा विद्युत् सुविधा पुर्याउने कार्यक्रमअनुसार बस्ती नपुगेका ठाउँको विवरण मागिएको बताएको हो।
प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णयानुसार ‘उज्यालो गण्डकी’ को नारा दिई निरन्तर ऊर्जासम्बन्धी कार्यक्रम कार्यान्वयनमा रहँदै आएका छन्।
मन्त्रालयले मर्मत गरी सञ्चालन गर्न सकिने अवस्थामा रहेका लघु जलविद्युत् आयोजनाको मर्मत सम्भार कार्य निरन्तर चलाइरहेको छ। केही स्थानीय तहमा घरेलु सौर ऊर्जा जडान कार्यक्रमसमेत सञ्चालनमा रहेका छन्।
प्रदेशको थप लगानीमा नेपाल विद्युत् प्राधिकरण, गण्डकी प्रादेशिक कार्यालय पोखरासँग सम्झौता गरी सञ्चालनमा रहेको विद्युत् विस्तार कार्यको भुक्तानी मन्त्रालयले फरफारक गरिसकेको छ। विद्युत् प्राधिकरणले विस्तारको कार्य निरन्तर गरिरहेको सूचनामा उल्लेख छ।
हालसम्म बत्ती बाल्नसमेत विद्युत् सुविधा नपुगेका घरधुरी वा बस्ती भए मन्त्रालयले सम्पर्कमा आउन अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया