पोखरामा सवारीसाधनको प्रदूषण परीक्षणमा तीव्रता
- Pokhara Express
- २०८३ श्रावाण २६ मङ्गलबार
पोखरा एक्सप्रेस ,गण्डकी ।
पोखरामा आइतबार ८० वटा सवारीसाधनको प्रदूषण परीक्षण गर्दा १५ वटा सवारीसाधनले मापदण्डभन्दा बढी धुँवा फाल्ने गरेको भेटिएको छ । यातायात व्यवस्था कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालयले गरेको छड्के अनुगमनका क्रममा ती सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो ।बढी धुँवा फाल्ने र यान्त्रिक अवस्था ठिक नभएका सवारीसाधनको परीक्षणमा पछिल्लो समय कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुदीपकुमार देवकोटाले जानकारी दिए । नियन्त्रणमा लिइएका सवारीसाधनलाई कानुनी कारबाहीका लागि यातायात व्यवस्था कार्यालय सवारीमा पठाइएको उनले बताए ।
महानगरभित्र चल्ने बसमा बढी धुँवा फाल्ने समस्या देखिएको प्रमुख देवकोटाले बताए । “समयमा सर्भिसिङ नगरेका, यान्त्रिक अवस्था ठिक नभएका सवारीसाधनमा प्रदूषण बढी देखिएको छ”, उनले भने, “यातायात व्यवस्था कार्यालयसँगको सहकार्यमा प्रदूषण परीक्षणलाई थप कडाइसहित निरन्तरता दिन्छौँ ।”यातायात व्यवस्था कार्यालय, सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले गत वर्ष ‘जेन्जी’ आन्दोलनपछि रोकिएको सवारीसाधनको प्रदूषण परीक्षणलाई पुनः सुरु गरिएको बताए । गत असारयता दुईपटकसम्म छड्के रूपमा सडकमै सवारीसाधनको अनुगमन गरिएको उनको भनाइ छ । कार्यालयले उजुरीका आधारमा कार्यालयमै ल्याएर पनि सवारीसाधानको यान्त्रिक तथा प्रदूषण परीक्षण गर्ने गरेको छ ।उपकरण तथा जनशक्ति अभावका कारण झण्डै एक वर्ष रोकिएको प्रदूषण चेकजाँचलाई अब नियमित गरिने कार्यालय प्रमुख शर्माले बताए । “बढी धुँवा फाल्ने सवारीसाधानलाई पहिलोपटकमा यान्त्रिक अवस्था सुधारसँगै मापदण्ड पूरा गरेर मात्र चल्न दिने गरेका छौँ”, उनले भने, “यही समस्या फेरि देखिएकामा जरिवानालगायत अन्य कानुनी कारबाही गर्छौँ ।”
प्रदूषण परीक्षण केही समय रोकिएका कारण सुरुमा सवारीसाधनका सञ्चालक र चालकलाई मापदण्ड पालनाका लागि सचेत र जिम्मेवार बनाइएको उनले बताए । कार्यालयका मेकानिकल सुपरभाइजर सुमन शर्माले प्रदूषण परीक्षणका क्रममा मापदण्ड नपुगेका सवारीसाधनलाई मर्मतसुधार गरी पुनः जाँच पास गरी सञ्चालनका लागि अनुमति दिने गरिएको बताए । उनका अनुसार सवारीसाधनको प्रदूषण धुँवाको घनत्व (ओपासिटी) मा नाप्ने गरिएको छ । ‘ओपासिटी’को युनिट ६५ प्रतिशतभन्दा बढी भएमा त्यसलाई मापदण्डविपरीत मानिने मेकानिकल सुपरभाइजर शर्माले बताए ।
समयमा सर्भिसिङ नगर्दा कतिपय नयाँ सवारीसाधानमा पनि बढी धुँवा फाल्ने समस्या देखिने गरेको उनको भनाइ छ । प्रदूषणको समस्या अधिकांश पुराना सवारीसाधानमा रहेको उनले बताए । कार्यालयमा अहिले डिजेलबाट चल्ने सवारीसाधनका लागि दुई वटा र पेट्रोलबाट चल्ने सवारीसाधनका लागि एउटा प्रदूषण जाँच गर्ने उपकरण रहेको छ ।
सरकारले २० वर्ष पुराना सवारीसाधन विस्थापन गर्ने निर्णय गरेपनि त्यस्ता सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लाग्न सकेको छैन । यान्त्रिक अवस्था ठिक नभएका पुराना सवारीसाधन सडकमा गुड्दा वायु तथा ध्वनी प्रदूषण, दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा चुनौती थपिने गरेको छ ।
तपाईको प्रतिक्रिया