विनाशकारी आधीले मानिस हावामा उडे, ११ जनाको मृत्यु, सयौँ घाइते
- Pokhara Express
- २०८३ असार २४ बुधबार
पोखरा एक्सप्रेस ,काठमाडौं
/चीनको केन्द्रीय हुबेई प्रान्तमा आएको विनाशकारी आँधी (टोर्नाडो) का कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३१ भन्दा बढी मानिस घाइते भएका छन्।
चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार सोमबार राति प्रतिघण्टा २६० किलोमिटरको रफ्तारमा आएको शक्तिशाली आँधीले ठूलो मात्रामा भौतिक क्षति गरेको छ।
आँधीको शक्ति यति भयानक थियो कि यसले हुबेई प्रान्तको हुआङ्गाङ सहरमा १२औँ तलाको अपार्टमेन्टबाट ३० वर्षीय एक युवकलाई सोफा र दराजसहित उडाएर भुइँमा खसालिदिएको छ। गम्भीर घाइते भएका ती युवकको अहिले आइसियूमा उपचार भइरहेको छ ।
अटोमोबाइल उत्पादनको हब मानिने हुबेई प्रान्तमा चार हजार ८५५ भन्दा बढी घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन्। हुआङ्गाङ सहरमा कयौँ भारी ट्रकहरूलाई आँधीले हावामा उडाएर ३० मिटर टाढासम्म पुर्याइदिएको थियो। हुबेई नजिकैको एझोउ सहरमा मात्रै आँधीका कारण ५ जनाको मृत्यु भएको छ।
हुबेई प्रान्तमा यस्तो आँधी आउनु दुर्लभ मानिन्छ। यसअघि सन् २०२१ को मे महिनामा त्यहाँ यस्तै आँधी आएको थियो। मौसमविद्हरूका अनुसार ुटाइफुन मेइसाकु र मनसुनी वर्षाको सम्मिश्रणका कारण यो गम्भीर मौसमी विपत्ति निम्तिएको हो।
हुबेईमा आँधी चलिरहँदा चीनकै दक्षिण-पश्चिमी क्षेत्र गुआङ्सीमा भने टाइफुन मेइसाकका कारण भीषण बाढी आएको छ। बाढीका कारण त्यहाँ ४ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्।
बाढीकैबीच हेङ्झाउ सहरको एउटा ‘स्नेक फार्म’ डुबानमा पर्दा त्यहाँबाट आठ सयभन्दा बढी सर्पहरू गाउँमा पसेका छन्। स्थानीय संचारमाध्मका अनुसार ती सर्पहरूमध्ये धेरैजसो विषरहित भए पनि केही अत्यधिक विषालु गोमन सर्प समेत छन्।
बाढीको धमिलो पानीमा सर्पहरू तैरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका छन्। सर्पले टोकेर एक स्थानीय घाइते भएका छन्। स्थानीयले मिलेर सर्प समात्ने टोली समेत गठन गरेका छन्।
विपत्तिपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले पीडितहरूको तत्काल उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारी निकायहरूलाई निर्देशन दिएका छन्। प्रभावित क्षेत्रमा सेना र सशस्त्र प्रहरीसहित तीन हजार भन्दा बढी उद्धारकर्मीहरू परिचालन गरिएको छ। एजेन्सी
तपाईको प्रतिक्रिया