अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा पोखरामा सरसफाइ कार्यक्रम सम्पन्न
- Pokhara Express
- २०८३ असार २१ आइतबार
पोखरा एक्सप्रेस ,पोखरा ।
अन्तर्राष्ट्रिय सहकारी दिवसको पावन अवसर पारेर आज पोखरामा एक ‘बृहत सरसफाइ कार्यक्रम’ सम्पन्न भएको छ ।
दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा, कास्कीको आयोजना तथा नेपाल ठकुरी संगम परिवार, कास्कीको सहआयोजनामा उक्त सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो ।
‘सहकारी नै हो साझा चौतारी‘ भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले हँसिया, पन्जा लगायतका सरसफाइका सामग्री प्रयोग गरी परिसरको घाँस काट्ने तथा फोहोर व्यवस्थापन गर्ने काम गरेका थिए ।कार्यक्रममा दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजाराम शाहीले सहकारीको महत्वबारे जनचेतना जगाउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले सहकारी र समुदायको सहकार्यले मात्र दिगो विकास सम्भव हुने कुरामा जोड दिनुभयो ।
नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष याम बहादुर हमालले संस्थागत सहकार्यले समाजमा सकारात्मक सन्देश दिने उल्लेख गर्दै सहकारी र सामाजिक संस्थाहरू एकजुट भएर अघि बढ्दा समाजको विकास र सरसफाइ जस्ता आधारभूत कुराहरूमा ठूलो परिवर्तन ल्याउन सकिने बताउनुभयो ।
त्यस्तै, नेपाल ठकुरी महिला परिवारका अध्यक्ष लक्ष्मी हमाल खाँणले सरसफाइ र वातावरणीय सचेतनामा महिलाहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
नेपाल ठकुरी भूपू परिवार कास्कीका अध्यक्ष देवेन्द्र बम मल्लले आफ्नो सेवाकालीन अनुशासन र अनुभवलाई समाजको हित र सरसफाइ अभियानमा जोड्न पाउँदा खुसी लागेको विचार व्यक्त गर्नुभयो ।नेपाल ठकुरी युवा परिवार कास्कीका सचिव मोहन शाहीले युवाहरूको ऊर्जा र सक्रियता नै सामाजिक परिवर्तनको मुख्य खम्बा भएको बताउँदै आगामी दिनमा पनि युवा पुस्ता सामाजिक कार्यहरूमा यसै गरी अग्रसर भइरहने प्रतिबद्धता जनाउनुभयो ।नेपाल ठकुरी संगम परिवार पोखरा १७, छोरेपाटनस्थित परिसरमा भएको कार्यक्रममा दर्शन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति , सल्लाहकारहरु, लेखा तथा सुपरिवेक्षण समिति, ऋण तथा लगानी समिति, नेपाल ठकुरी संगम परिवारका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका नेतृत्वकर्ताहरूले सामाजिक रूपान्तरण र समुदायको हितका लागि यस्ता कार्यक्रमहरू अपरिहार्य रहेको कुरामा जोड दिएका थिए ।
आयोजकले कार्यक्रमलाई भव्य रूपमा सफल पार्न उपस्थिति जनाई सहयोग पुर्याउने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि समाजका हरेक रचनात्मक कार्यक्रमहरूमा यसै गरी निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा राखेको छ ।
तपाईको प्रतिक्रिया