काठमाडौंमा ‘बोधी सम्बाद’ हुँदैः नेपालको आर्थिक सुधार र दक्षिण एसियाको भू-राजनीतिमा उच्चस्तरीय अन्तर्राष्ट्रिय छलफल
- Pokhara Express
- २०८३ जेठ २७ बुधबार
पोखरा एक्सप्रेस ,काठमाडाैं।
सेन्टर फर सोशल इनोभेसन एण्ड फरेन पोलिसी (सिसेफ) नेपालले आगामी जून १६ देखि १९ सम्म काठमाडौंको होटल रोयल टुलिपमा ‘बोधी सम्बाद २०२६’ नामक चार दिने उच्चस्तरीय अन्तर्राष्ट्रिय कन्क्लेभ आयोजना हुने भएको छ।
नेपालको बौद्ध दार्शनिक परम्पराबाट अनुप्राणित यस कार्यक्रमको नाम ‘बोधी सम्बाद’ले खुला, रचनात्मक र गहन संवादको भावना प्रतिबिम्बित गर्दछ। नीति-निर्माता, कूटनीतिज्ञ, विद्वान, निजी क्षेत्रका अगुवा, विकास साझेदार र मिडिया पेशेवरसहित स्वदेश-विदेशका प्रतिष्ठित व्यक्तित्वहरू यस मञ्चमा एकत्रित हुनेछन्।
कन्क्लेभ दुई प्रमुख विषयगत ट्र्याकमा विभाजित छ। पहिलो ट्र्याक ‘नेपालको आर्थिक सम्भावना उजागर गर्दै: सुधार २.०’ जून १६ र १७ मा हुनेछ। यस ट्र्याकमा शासन सुधार, विदेशी प्रत्यक्ष लगानी, श्रम बजार, ऊर्जा पूर्वाधार र डिजिटल अर्थतन्त्रजस्ता नेपालका अत्यावश्यक आर्थिक प्रश्नहरूमा विशेषज्ञहरूबीच संवाद हुनेछ। पहिलो दिनको उद्घाटन सत्रमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुख्य भाषण दिनेछन् भने अन्तर्राष्ट्रिय मुद्राकोषका नेपाल स्थित आवासीय प्रतिनिधि प्रणव गुप्ताले विशेष सम्बोधन गर्नेछन्।
दोस्रो ट्र्याक ‘भू-राजनीति विश्लेषण: दक्षिण एसियामा चीन’ जून १८ र १९ मा आयोजित हुनेछ। बेल्ट एण्ड रोड इनिसिएटिभ, ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, ग्लोबल सेक्युरिटी इनिसिएटिभ र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ जस्ता चिनियाँ पहलहरूले दक्षिण एसियाको शासन, अर्थतन्त्र र सुरक्षामा पार्दै आएको प्रभावको गहन विश्लेषण यस ट्र्याकको केन्द्रीय विषय हुनेछ। यसका साथै डिजिटल पूर्वाधार, डेटा सुरक्षा, सांस्कृतिक कूटनीति, हिमाली सीमा राजनीति र दक्षिण एसियाली क्षेत्रीयवाद जस्ता विषयमा पनि छलफल हुनेछ।
यस कन्क्लेभमा अन्तर्राष्ट्रिय स्तरका उच्च प्रोफाइल वक्ताहरूको उपस्थिति रहनेछ। भारतीय पूर्वविदेश सचिव विजय केशव गोखले र संयुक्त राष्ट्र संघका पूर्व उप-महासचिव राजदूत ज्ञान चन्द्र आचार्यले उद्घाटन सत्रमा मुख्य वक्ताको भूमिका निर्वाह गर्नेछन्। दोस्रो ट्र्याकमा प्रजातन्त्र तथा मानव अधिकारका लागि अमेरिकाका पूर्व सहायक विदेश सचिव टम मालिनोव्स्कीले मुख्य भाषण दिनेछन्।
सिसेफका कार्यकारी अध्यक्ष विजय कान्त कर्णाका अनुसार यस संवादको मुख्य उद्देश्य साना राष्ट्रहरूले क्रमशः जटिल बन्दै गएको भू-राजनीतिक परिवेशमा आफ्नो सार्वभौमिकता र राष्ट्रिय हित कसरी सुरक्षित गर्न सक्छन् भन्ने प्रश्नमा स्थानीय अन्तर्दृष्टि र अन्तर्राष्ट्रिय दृष्टिकोणबीच सेतु निर्माण गर्नु हो।
तपाईको प्रतिक्रिया