स्पेस एक्सको चार गुणा बढी आईपीओ सब्सक्राइब, लगानीकर्ताको ओइरो
- Pokhara Express
- २०८३ जेठ २७ बुधबार
एजेन्सी ,न्युयोर्क।
एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सको प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात् आईपीओले इतिहासकै कीर्तिमान तोड्ने सङ्केत देखाएको छ। कम्पनीले ७५ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेकोमा लगानीकर्ताहरूबाट आएको माग त्योभन्दा साढे तीन देखि चार गुणा बढी अर्थात् २५० अर्ब डलरभन्दा माथि पुगेको विश्वसनीय स्रोतहरूले रोयटर्सलाई जानकारी दिएका छन्।
उक्त आईपीओको लागि बिहीबार मूल्य निर्धारण हुने अपेक्षा गरिएको छ। अन्तिम मूल्य तय नहुँदासम्म माग घटबढ हुन सक्छ र अहिलेसम्म आएका आवेदन अन्तिम नभई रुचि अभिव्यक्तिमात्र हुन्। त्यसमाथि, ठूला संस्थागत लगानीकर्ताहरू प्रायः आईपीओ प्रक्रियाको अन्तिम चरणमा आवेदन दिने गर्छन्, त्यसैले वास्तविक माग अझै बढ्न सक्ने सम्भावना छ।
लगानीकर्ताहरूलाई आकर्षित गर्न स्पेस एक्सले आफ्नो मार्केटिङ जोडतोडले गरिरहेकाे छ। मंगलबार कम्पनीकी अध्यक्ष ग्वेन शटवेल र वित्त प्रमुख ब्रेट जोन्सन न्युयोर्कको मिडटाउन म्यानहट्टनस्थित मोर्गन स्ट्यानलीमा आयोजित बैठकमा सहभागी हुने कार्यक्रम थियो, जहाँ मोर्गन स्ट्यानलीका सह-अध्यक्ष ड्यान सिमकोविचको आतिथ्यमा करिब ३०० संस्थागत लगानीकर्ताहरू उपस्थित थिए। स्वयं एलन मस्कले पनि सम्भावित लगानीकर्ताहरूसँगको केही जुम बैठकमा संक्षिप्त उपस्थिति जनाएको एक स्रोतले बताएको छ।
स्पेस एक्सले आफ्नो आईपीओ कागजातमा कम्पनीको अद्वितीय प्रतिस्पर्धात्मक स्थिति उजागर गरेको छ।स्पेस एक्सले नै हाेल्ड गरेको स्टारलिङ्क इन्टरनेट व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको कम्पनीले दाबी गरेको छ। त्यसमाथि कम्पनीले कृत्रिम बुद्धिमत्ता क्षेत्रमा २३ खर्ब डलरको बजार अवसर रहेको र यो अवसर सदुपयाेग गर्न स्पेस एक्स मात्र सक्षम रहेको भन्दै आफूले अन्तरिक्षमा डेटा केन्द्र र पूर्वाधार निर्माण गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।
अमेरिकामा ठूला परियोजनाहरू स्थापना गर्न विभिन्न अवरोधहरू रहेकाले अमेरिकाको विद्युत् उत्पादन र कम्प्युटर क्षमता वृद्धि चीनभन्दा पछि परेको स्पेस एक्सले स्वीकार गर्दै यो कमीलाई अन्तरिक्षमा पूर्वाधार राखेर पूर्ति गर्न सकिने तर्क अगाडि सारेको छ। कम्पनीले थपेको छ, “अन्तरिक्ष पहुँचको लागत नाटकीय रूपमा घटाएर हामी पृथ्वीका सबैभन्दा जटिल समस्याहरू समाधान गर्ने अभियानमा लागेका छौं — तीन अर्बभन्दा बढी इन्टरनेट विहीन मानिसहरूलाई सञ्जालमा जोड्ने सपना त्यसैको एक अंश हो।”
तपाईको प्रतिक्रिया