फागुन २१ को निर्वाचनमा रेकर्ड मतदान हुने आयोगको दाबी
- Pokhara Express
- २०८२ फागुन ७ बिहीबार
पोखरा एक्सप्रेस ,पोखरा ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेको निर्वाचनमा धेरै मतदान हुने दाबी गरेका छन्।
मतदाता शिक्षा र स्वयंसेवकको कारणले यस पटक मत बदर कम हुने आयोगको अपेक्षा छ।
निर्वाचनलाई सफल बनाउन सरकार, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय भइरहेको छ।
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अहिलेसम्मकै सबैभन्दा बढी मतदान हुने दाबी गरेका छन्। १० औँ निर्वाचन दिवसका अवसरमा बिहीबार आयोजित विशेष कार्यक्रममा बोल्दै उनले मतदाताहरू मतदानको दिनलाई व्यग्रताका साथ पर्खिरहेको र यसपटक मत खस्ने प्रतिशतले नयाँ रेकर्ड राख्ने विश्वास व्यक्त गरे।
आयोगको आन्तरिक अनुसन्धान र विश्लेषणका आधारमा यसपटक मतदान मात्र बढी नभई मत बदर हुने संख्या पनि निकै कम हुने भण्डारीको भनाइ छ। अघिल्ला निर्वाचनहरूको तुलनामा यसपटक मतदाताहरू निकै सचेत र चनाखो रहेको उनले बताए।
खसेको मतमध्ये लगभग सबै सदर हुने आयोगको अपेक्षा छ। आयोगले सञ्चालन गरिरहेको मतदाता शिक्षा कार्यक्रम र स्वयंसेवकहरूले घरदैलोमा पुगेर सिकाएको मतदान गर्ने तरिकाका कारण बदर मतको अनुपात न्यून हुने दाबी गरिएको हो।
मतदानप्रति मतदाताको उत्साह देखिए पनि उनीहरूलाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुर्याउने वातावरण बनाउन भने राजनीतिक दल र उम्मेदवारहरूको ठुलो भूमिका रहने भण्डारीले उल्लेख गरे। राजनीतिक दल, नेता र कार्यकर्ताहरूले मतदातामैत्री वातावरण सिर्जना गर्न विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए। यदि मतदानस्थलसम्म पुग्ने सहज र सुरक्षित वातावरण बनेन भने मतदान गर्न इच्छुक मतदाताहरू पनि घरमै बस्न सक्ने भन्दै उनले सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरे।
निर्वाचन दिवसको अवसरमा आयोगले एक स्मारिका समेत सार्वजनिक गरेको छ। सोही अवसरमा घोषणा गरिने निर्वाचन पुरस्कारहरू भने आगामी वैशाख १ गते विशेष कार्यक्रम आयोजना गरी वितरण गरिने आयोगले जनाएको छ। फागुन २१ को निर्वाचनलाई सफल बनाउन सरकार, सुरक्षा निकाय र स्थानीय तहहरूसँगको समन्वयमा आयोगले अन्तिम तयारी गरिरहेको छ।
तपाईको प्रतिक्रिया