पोखरा एक्सप्रेस ,पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ३३ स्थित शिव बस्ती सिप्लेनीतरा युवा क्लब को आयोजनामा तथा पोखरा महानगरपालिका वडा नं. ३३ को संरक्षकत्वमा प्रथम आमन्त्रित महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी फाल्गुन ०७ गतेदेखि ०९ गतेसम्म सञ्चालन हुने भएको हो।
आयोजकले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी दिएको हो। महिला फुटबलको प्रवर्द्धन, नयाँ खेल प्रतिभाको पहिचान तथा स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।
प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका कुल आठ वटा महिला फुटबल क्लबहरूको सहभागिता रहने छ। सहभागी क्लबहरूमा राइजिङ्ग स्टार युथ क्लब (कपिलवस्तु), शिव बस्ती सिप्लेनीतरा युवा क्लब (पोखरा–३३), एम्बेस्डर फुटबल नेपाल (काठमाडौँ), म्याग्दी जिल्ला फुटबल एसोसिएसन, साइमन स्पोर्ट (चितवन), हिन्दी फिल्डर्स गोर्खा फुटबल क्लब, हेम्जा युनाइटेड क्लब तथा ट्रिनिटी क्लब (वालिङ, स्याङ्जा) रहेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै आयोजक प्रतिनिधिहरूले प्रतियोगिताले महिला खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नुका साथै खेलप्रतिको आकर्षण बढाउने र भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे। साथै प्रतियोगितालाई सफल बनाउन स्थानीय तह, खेलप्रेमी, अभिभावक तथा सरोकारवाला निकायको सहयोग अपरिहार्य रहेको उनीहरूको भनाइ छ।
स्थानीय तहको सक्रिय सहयोगमा आयोजना हुन लागेको यस प्रतियोगिताले पोखरा–३३ लाई महिला फुटबलको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया