लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एम, नेपाल क्लस्टर २ को आयोजनामा अन्तर क्लस्टर वक्तृत्वकला प्रतियोगिता सम्पन्न
- Pokhara Express
- २०८२ माघ १८ शनिवार
पोखरा एक्सप्रेस ,पोखरा ।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एम, नेपाल क्लस्टर २ को आयोजनामा पोखरामा शनिबार अन्तर–क्लस्टर वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “सेवा नै खुसी हो” (Serve for Happiness) र “ज्येष्ठ नागरिकको सेवामा लायन्स” भन्ने दुई प्रमुख शीर्षकमा केन्द्रित रही प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा कुल नौ जना प्रतियोगीहरूले आफ्नो बिषयवस्तु माथी तार्किक प्रस्तुति राखेका थिए ।
प्रतिस्पर्धामा उत्कृष्ट प्रस्तुति दिँदै लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनका बुद्धिसागर खनाल प्रथम हुनुभएको छ। त्यसैगरी, लायन्स क्लब अफ पोखरा आँखीझ्यालका हरिप्रसाद शर्माले द्वितीय र लायन्स क्लब अफ आदर्श टाउनका दीपक सापकोटाले तृतीय स्थान हासिल गर्नुभयो । विजेताहरूलाई ट्रफी तथा प्रमाणपत्र र सहभागीहरूलाई प्रशंसा–पत्र वितरण गरिएको थियो । प्रतियोगिताका उत्कृष्ट दुई प्रतिस्पर्धीले फाइनल चरणका लागि डिस्ट्रिक्ट स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् ।
कार्यक्रमका प्रमुख अतिथि पिएमजेएफ डिस्ट्रिक्ट गभर्नर लायन धनिराम बरालले वक्तृत्वकलाले व्यक्तित्व र नेतृत्व क्षमता विकासमा सघाउ पुर्याउने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले लायन्सको सेवाको भावना र ज्येष्ठ नागरिकप्रतिको दायित्वलाई जनमानसमा प्रभावकारी रूपमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, मेन्टर तथा चिफ अफ एड्मिनिस्ट्रेटर एम.जे.एफ. लायन शिवराज आचार्यले नेतृत्व विकासका लागि यस्ता बौद्धिक कार्यक्रमहरू अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्माले प्रमुख निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा भिडिजी स्पाउस भवानी अधिकारी बराल, सेक्रेटरियट को-अर्डिनेटर श्रीकृष्ण श्रेष्ठ, फेलोसिप डिस्ट्रिक्ट को-अर्डिनेटर पवित्रा न्यौपाने, काउन्सिलर फणिन्द्र तिमिल्सिना, जोन चेयरपर्सन इन्जिनियर नेत्र तिमिल्सिना जोन चेयरपर्सन प्रेम क्षेत्री लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
एम.जे.एफ. लायन लक्ष्मी कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रिजन चेयरपर्सन नरकुमार सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रिजन चेयरपर्सन लायन लेखनाथ सुवेदीले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया