एमालेले संसद पुनर्स्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छ – एमाले उपमहासचिव भट्टराई
- Pokhara Express
- २०८२ पौष २० आइतबार
पोखरा एक्सप्रेस ,ताप्लेजुङ ।
नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संसद पुर्नस्थापना सहितका संबैधानिक प्रकृयाका बिषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताउनुभएको छ । संबैधानिक बिषयको निरुपण नहुँदा थप संबैधानिक जटिलता उत्पन्न हुन सक्ने भन्दै उहाँले सर्बोच्च अदालतले संसद पुर्नस्थापना सहितका संबैधानिक प्रकृयाका बिषयको निरुपणमा गरेको ढिलाईप्रति संशय व्यक्त गर्नुभयो ।
११ औं महाधिवेशनमा एमाले उपमहासचिवमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला ताप्लेजुङ आउनुभएका भट्टराईल प्रेस चौतारी ताप्लेजुङले फुङलिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संबिधान र लोकतन्त्र पुनस्र्थापित गर्न एमालेले संसद पुर्नस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्ने बताउनुभयो । संबिधानलाई जीवित राख्न,लोकतन्त्रलाई प्राण दिन र लोकतन्त्रको निरन्तरताका लागि प्रतिनिधिसभा अनिवार्य भएको बताउँदै उहाँले अदालतले संसद पुर्नस्थापनाका सम्वन्धमा परेको मुद्दाको शीघ्र निरुपण गर्न जरुरी रहेकोमा जोड दिनुभयो । संसद पुर्नस्थापना नभए मुलुक फागुन २१ को निर्वाचनमा केन्द्रित हुने उहाँको भनाई थियो ।
हरेक संस्थागत संगठनमा लोकतन्त्रको अभ्यास हुँदा एकपक्ष जित्ने र अर्को पक्ष हार्ने भएपनि पार्टीमा हार्नेको भन्दा जित्नको दायित्व बढी हुने भएकोले पराजितहरुको आकाँक्षालाई समेट्दै पार्टी नेतृत्व अघि बढ्नुपर्ने भट्टराईको भनाई छ ।
उहाँले एमाले ताप्लेजुङबाट ५ जनाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएपनि सर्वसम्मत रुपमा एकजना एमालेका उम्मेदवार हुने अरु कमाण्डर भई पार्टीलाई जिताउनु पर्ने बताउनुभयो । पहिले पार्टी,दोस्रो चिन्ह र तेस्रो मात्र व्यक्ति हुने उहाँको भनाई थियो ।
कार्यक्रममा संगै रहेका एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले भदौ २३ र २४ गतेको घटना बाहिरी शक्तिको प्रभावमा हाँकिएको अरोप लगाउनुभयो । थेबेले बालेन शाहप्रति लक्षित सिंहदरवार जलाउँछौं भन्नेको अभिष्ट चाहना पूरा भएपनि नेपाली जनताले नेपाली आस्थाका धरोहरहरु सिंहदरवार,सर्बोच्च अदालत,संसद भवन जलाएर देश खरानी बनाएको नबिर्सने बताउनुभयो । ननयुवाहरुका मुद्दा साझा मुद्दा भएपनि आन्दोलनलाई भड्काएर मुलुकलाई तहसनहस बनाउन लागिपर्नेहरु कहिल्यै जनताका भक्त हुन नसक्ने दावी गरे । भट्टराईले झैं थेबेले पनि एउटै मञ्चबाट पार्टीबाट सिफारिस भएका ५ मध्ये एकजना आउँदो निर्वाचनका लागि उम्मेदवार हुने अरु ४ जनाले चुनावी मोर्चाको नेतृत्व गरेर पार्टीलाई जिताउनु पर्ने बताउनुभयो । एमाले ताप्लेजुङको शनिवार बसेको बैठकले उपमहासचिव भट्टराई,पार्टीका केन्द्रीय सदस्य थेबे,अर्का केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वो,निवर्तमान केन्द्रीय सदस्य टंक आङवुहाङ र एमाले जिल्ला कमिटी उपसचिव भीमादेवी ओझा गरी ५ जनालाई आउँदो निर्वाचनका लागि पार्टीबाट सिफारिस गर्ने निर्णय गरेको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया