पोखरा एक्सप्रेस ,काठमाडौं।
सरकारले सार्वजनिक बिदाका दिन पनि पर्यटकलाई पदयात्रा अनुमति दिने भएको छ। अध्यागमन विभागले बुधबार विज्ञप्ति जारी गर्दै शनिबारबाहेक सार्वजनिक बिदाका दिन पनि पदयात्रा अनुमति दिने व्यवस्था गरिएको जानकारी दिएको छ।
विभागका प्रवक्ता टीकाराम ढकालले जारी गरेको विज्ञप्तिमा सार्वजनिक बिदाका दिन दुई घण्टा पदयात्रा अनुमति दिने व्यवस्था गरिएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ,’सम्बन्धित ट्रेकिङ एजेन्सी र पदयात्रामा जान चाहने पर्यटकहरूको सहजता तथा निषेधित क्षेत्रमा पदयात्रा अनुमति प्रदान गर्ने कार्यलाई सरल, अनुमानयोग्य र छरितो बनाउँदै संस्थागत सुशासन कायम गर्ने उद्देश्यले यस विभागले पदयात्रा अनुमति प्रदान गर्ने कार्यलाई शनिबार बाहेकका सार्वजनिक बिदाको दिनमा २ घण्टा (बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म मात्र) सञ्चालन गर्ने गरी मिति २०८३ वैशाख २३ गते निर्णय गरेको छ।’
विदेशी नागरिकहरूले १३ जिल्लाका तोकिएका निषेधित क्षेत्रमा पदयात्रा गर्न अध्यागमन विभागबाट अनुमति लिनुपर्ने व्यवस्था छ। पदयात्रा अनुमति सम्बन्धी सबै कार्य अनलाइन प्रणालीमार्फत भइरहेको छ।

तपाईको प्रतिक्रिया