गण्डकीमा ७ हजारभन्दा बढीको निशुल्क स्वास्थ्य बीमा
- Pokhara Express
- २०८३ बैशाख २४ बिहीबार
पोखरा एक्सप्रेस ,पोखरा ।
गण्डकी प्रदेश सरकारले ७ हजार ६१ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । स्वास्थ्य मन्त्रालयको अनुदानमा अपाङ्गता भएका व्यक्ति र मिर्गौला पीडितका परिवारको बीमा गरिएको हो । यसमा अपाङ्गता भएका ५ हजार ९४६ र मिर्गौला पीडितका ४३१ परिवार समेटिएका छन् । ३८२ द्वन्द्वपीडित, २८ जनआन्दोलनका घाइते र ६३ सहिद तथा बेपत्ता परिवारको पनि निःशुल्क बीमा भएको छ । कास्कीमा क्रियाशील २११ पत्रकारले पनि यो सुविधा पाएका छन् ।
स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश कार्यालयका संयोजक जीवलाल खरेलले यसको जानकारी दिए । ‘प्रदेश स्वास्थ्य मन्त्रालयको अनुदानमा आर्थिक वर्ष २०८१/८२ मा ७ हजार ६१ जनाको स्वास्थ्य बीमा भएको हो’, उनले भने । अपाङ्गता भएका नागरिकले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाइरहेको खरेलले बताए ।
प्रदेशभर १ लाख ६१ हजार ९३५ ज्येष्ठ नागरिक यो कार्यक्रममा आबद्ध छन् । २ हजार ३११ एचआइभी संक्रमित र ५ हजार ६३० अति अशक्त अपाङ्गता भएका परिवारले पनि बीमा सुविधा लिएका छन् । कुष्ठरोग संक्रमित ९० र क्षयरोगका ५७ परिवारले पनि स्वास्थ्य बीमा गराएका छन् । यसैगरी ४ हजार ६४२ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार पनि बीमामा आबद्ध भएको तथ्यांक छ ।
हालसम्म ४ लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा जोडिएका छन् । यो प्रदेशको कुल परिवार संख्याको ६७.०१ प्रतिशत हो । गण्डकीमा हालसम्म १३ लाख ५६ हजार ६९८ जनाको स्वास्थ्य बीमा गरिएको छ । जनसंख्याका आधारमा ५५ प्रतिशत बीमित पुगेको संयोजक खरेलले बताए । कुल बीमितमध्ये ७ लाख ३८ हजार २३२ जनाले सेवा लिएका छन् । यो संख्या ५४.०४ प्रतिशत हुन आउँछ । बीमा नवीकरण गर्ने परिवारको संख्या ३ लाख ३५ हजार ५०५ पुगेको छ । ७५ प्रतिशत परिवारले नियमित बीमा नवीकरण गरेको पाइएको छ ।
प्रदेशका ४७ स्थानीय तहमा सूचीकृत अस्पताल र सेवा प्रदायक संस्थाहरु छन् । सरकारी ५६, निजी ४ र सामुदायिक १ गरी ६१ वटा सेवा प्रदायक संस्था सूचीकृत भएका छन् । स्वास्थ्य बीमाका लागि प्रदेशभर ७२५ दर्ता सहयोगी सक्रिय रहेको खरेलले जानकारी दिए । ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, गम्भीर प्रकृतिका दीर्घरोगी र अति अशक्तलाई निःशुल्क बीमाको व्यवस्था छ । गरिब परिचयपत्र पाएका परिवारले पनि निःशुल्क स्वास्थ्य सेवा पाउँछन् ।५ जनासम्मको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ बुझाएमा १ लाख रुपैयाँसम्मको उपचार सेवा पाउँछन् । ५ जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य ७०० रुपैयाँ थप्नुपर्ने प्रावधान छ । यस्तो ठूलो परिवारले २ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने खरेलले बताए । बोर्डले तोकेका १ हजार २८८ प्रकारका औषधि र शल्यक्रियासहित जटिल रोगको उपचार पनि बीमाबाटै हुने गरेको छ । रासस
तपाईको प्रतिक्रिया