पोखरा एक्सप्रेस ,रुपन्देही ।
स्थलमार्ग हुँदै बेलहिया नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढेको छ । एक वर्षको अवधिमा एक लाखभन्दा बढी तेस्रो मुलुकका पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका छन् ।
अध्यागमन कार्यालय बेलहिया, रुपन्देहीका अनुसार सन् २०२५ मा एक लाख तीन हजार ९५५ जना पर्यटक यो नाका हुँदै नेपाल आएका हुन् । सोही अवधिमा एक लाख दुई हजार ४५५ जना बेलहिया नाका हुँदै गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
सन् २०२४ मा यो नाका हुँदै ९२ हजार ६४४ पर्यटक भित्रिएका थिए भने ९३ हजार २९० जना पर्यटक यहाँबाट गन्तव्यतर्फ प्रस्थान गरेका थिए ।
कार्यालय प्रमुख वासुराम पौडेलले २०२५ मा पर्यटकको आगमन साचेअनुरुप हुन नसके पनि विगतका वर्षभन्दा सङ्ख्या भने बढेको बताए। “सन् २०२५ मा करिब एक लाख २० हजार पर्यटकको आगमन हुने आकलन गरेका थियौँ । जेनजी आन्दोलनका कारणले त्यति आगमन हुन सकेन, तर कोरोना कालपछि क्रमशः पर्यटकको सङ्ख्या बढ्दै गएको छ”, पौडेलले भने ।
गत वर्षभन्दा १० हजार बढीले पर्यटकको आगमनको सङ्ख्या बढेको उनले जानकारी दिए ।
सन् २०२५ मा यस नाकाबाट सबैभन्दा बढी श्रीलङ्काका ३४ हजार ३६६ पर्यटक नेपाल आएका छन् । त्यसपछि म्यानमारका १९ हजार ९६२, थाइल्यान्डका १९ हजार १९५, भियतनामका सात हजार ६४५, दक्षिण कोरियाका तीन हजार ८२ र संयुक्त राज्य अमेरिकाका दुई हजार १४९ जना छन् ।
उक्त अवधिमा सबैभन्दा बढी मार्च महिनामा २० हजार ७२० पर्यटक नेपाल आएका छन् । यस्तै, फेब्रुअरीमा १७ हजार ८७१, नोभेम्बरमा १६ हजार ३०५, अक्टोबरमा ११ हजार ६९७ र डिसेम्बरमा १० हजार ७२० पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ ।
तपाईको प्रतिक्रिया