पोखरा एक्सप्रेस ,पोखरा ।
पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयलाई नेपाल एसविआई बैंकले सहयोग गरेको छ ।
शुक्रवार पुस्तकालयको सभाहलमा आयोजित एक कार्यक्रमका बिच बैंकका शिसुवा शाखा प्रमुख सचिन्द्र डंगोल र प्रशिक्षार्थी ग्राहक सहायक सुदिप पौडेलले पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीलाई संस्थाका लागि एक थान प्रिन्टर र फोटोकपी मेशिन हस्तान्तरण गरेका हुन् ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य समेत रहेकी पुस्तकालय उपाध्यक्ष निर्मला पौडेलले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै नेपाल एसबिआई बैंक शिशुवा शाखाका प्रबन्धक डंगोलले बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा समाजको उन्नति र विकास होस् भन्ने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्ने गरेको सन्दर्भमा दीपशिखा पुस्तकालयले युवा बालबालिकालाई पढ्ने उत्प्रेरणा प्रदान गरिरहेको आफूले जानकारी पाएको र यस किसिमको सहयोग गर्न पाउँदा खुशी लागेको वताए ।
लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल,सचिव रामशरण नेपाली, संस्थापक अध्यक्ष भीमपाणि बराल पूर्व अध्यक्ष कविराज खनाल लगायतले पाठकहरु निरन्तर पुस्तकालय आउने वातावरणका लागि र अन्य कामकाजका लागि पनि पुस्तकालय जस्तो सेवामूलक संस्थामा सहयोग महत्वपूर्ण रहने वताएका थिए ।
पुस्तकालय व्यबस्थापन समितिका पदाधिकारीहरु ,कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन सामुदायिक पुस्तकालय संघ गण्डकीका अध्यक्ष समेत रहेका पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारीले गरेका थिए । पुस्तकालयमा १८० आजीवन सदस्यहरु रहेका छन् भने दैनिक ६० देखि १००पाठकहरु अध्ययनका लागि आउने गर्दछन् । अध्यक्ष कृष्णहरि भण्डारीले धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए।
तपाईको प्रतिक्रिया