एस इ इ मा ४ जिपिए ल्याएका जुम्लाहा दिदी बहिनीलाई २५ हजारसहित जनप्रकाश माविको बधाई तथा सम्मान
- Pokhara Express
- २०८३ जेठ ७ बिहीबार
पोखरा एक्सप्रेस ,पोखरा
पोखरा महानगरपालिका–२९, भण्डारढिकस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने जुम्लाहा दिदीबहिनीलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेको छ ।
बुधबार विद्यालयमा आयोजित कार्यक्रममा एसईईमा उत्कृष्ट सफलता प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरिएको हो । यस क्रममा ४ जिपिए ल्याउन सफल जुम्लाहा विद्यार्थी दिया सुवेदी र दिपीका सुवेदीलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयले दुवै विद्यार्थीको उपलब्धिले विद्यालयसँगै पोखरा महानगर तथा लेखनाथ क्षेत्रकै शैक्षिक प्रतिष्ठा उँचो बनाएको उल्लेख गर्दै पुरस्कृत गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै पोखरा महानगरपालिका–२९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ ले विद्यार्थीहरूलाई आगामी दिनमा थप सफलता हासिल गर्न आफ्नो क्षमता विकास गर्दै जिम्मेवार र सम्मानजनक ढंगले उच्च अध्ययन अगाडि बढाउन सुझाव दिए । उनले एकै परिवारका जुम्लाहा दिदीबहिनीले हासिल गरेको सफलता वडाकै गौरवको विषय भएको बताए ।
उनले अहिलेको पुस्ताले पढाइसँगै व्यवहारिक ज्ञानमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई घरायसी सामान्य काममा समेत सहभागी गराउन अभिभावकलाई आग्रह गरे ।
यस वर्ष जनप्रकाश माविबाट एसईईमा सहभागी ८४ जना विद्यार्थीमध्ये ५८ जना उत्तीर्ण भएका छन् । तीमध्ये ४ जिपिए ल्याउने जुम्लाहा दिदीबहिनी सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बनेका विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद भण्डारी ले विद्यालयको निरन्तर शैक्षिक सुधार र गुणस्तरीय शिक्षामा विशेष ध्यान दिइएको बताए ।
विद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्मा ले विद्यार्थीहरूको सफलताको श्रेय मेहनती विद्यार्थी, समर्पित शिक्षक तथा निरन्तर सहयोग गर्ने अभिभावकलाई दिँदै सबैलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।
“हाम्रो उद्देश्य केवल परीक्षा उत्तीर्ण गराउनु मात्र होइन, गुणस्तरीय शिक्षा प्रदान गर्नु पनि हो । अहिलेको एसईई नतिजा र विगतका उपलब्धिले त्यसलाई पुष्टि गरेको छ,” उनले भने ।
उनले जीवनलाई निरन्तर परीक्षाका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई संयमित र अनुशासित भएर अघि बढ्न सुझाव दिए । “परीक्षामा मात्र होइन, जीवनका हरेक परीक्षामा सफल हुनुपर्छ,” उनले बताए ।
कार्यक्रमको सञ्चालन शिक्षक बिमल न्यौपाने ले गरेका थिए । कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
वि.सं. २०१५ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल गण्डकी प्राविधिक शिक्षातर्फ करिब ४ सय ३० जना तथा साधारण शिक्षातर्फ एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा व्यवस्थापन विषयसहित नेपाली तथा अंग्रेजी माध्यमबाट अध्ययन–अध्यापन हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया