वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसद्वारा अभिभावकसँग रणनीतिक योजना सम्बन्धी अन्तरक्रिया
- Pokhara Express
- २०८३ जेठ ७ बिहीबार
पोखरा एक्सप्रेस ,पोखरा
वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसले आगामी पाँच वर्षको रणनीतिक योजना निर्माणलाई सहभागितामूलक, प्रभावकारी र व्यवहारमुखी बनाउने उद्देश्यसहित अभिभावकसँग अन्तरक्रिया तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा क्याम्पस प्रशासन, प्राध्यापक तथा अभिभावकबीच क्याम्पसको शैक्षिक गुणस्तर, विद्यार्थीको समग्र विकास, अनुसन्धानमुखी शिक्षा, सिकाइ वातावरण तथा दीर्घकालीन विकास योजनाका विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख डा. नारायणप्रसाद गौतमले गुणस्तरीय शिक्षाका लागि अभिभावक, शिक्षक र क्याम्पस प्रशासनबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले क्याम्पसलाई समयानुकूल, अनुसन्धानमुखी तथा विद्यार्थीमैत्री शिक्षण संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित रणनीतिक योजना तयार पारिएको जानकारी दिनुभयो । उहाँले अभिभावकको सक्रिय सहभागिताले क्याम्पसको शैक्षिक उन्नयन तथा संस्थागत विकासमा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
रणनीतिक योजना निर्माण प्रक्रियाबारे जानकारी गराउँदै प्रा. विनोद प्रसाद हेज्यूले क्याम्पसको दीर्घकालीन विकासका लागि सबै सरोकारवालाको सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँलेले पूर्वाधार विकास, सेवा सुविधा विस्तार, विद्यार्थी गतिविधि तथा आर्थिक व्यवस्थापनलाई आगामी योजनाको प्राथमिकतामा राखिएको बताउनुभयो ।
कार्यक्रममा डा. विष्णु वाग्ले क्याम्पसको शैक्षिक कार्यक्रम, सिकाइ वातावरण तथा अभिभावक क्याम्पस सञ्चार प्रणालीबारे प्रस्तुति राख्नुभएको थियो । उहाँले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै व्यवहारिक ज्ञान, अनुसन्धान र नेतृत्व विकासलाई पनि प्राथमिकता दिइएको बताउनुभयो ।
त्यसैगरी, डा. श्रीकान्त खतिवडाले विद्यार्थीको भविष्य निर्माणमा सकारात्मक शैक्षिक वातावरण, सामुदायिक सम्बन्ध र जिम्मेवार क्याम्पस सञ्चालनको भूमिकाबारे धारणा राख्दै आगामी पाँच वर्षको क्याम्पस अवधारणामाथि प्रकाश पार्नुभयो ।
खुला छलफल सत्रमा सहभागी अभिभावकहरूले विद्यार्थीमैत्री वातावरण, व्यवहारिक तथा अनुसन्धानमुखी शिक्षा, अनुशासन, नियमित अभिभावक क्याम्पस समन्वय र करिअर परामर्शलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए ।
क्याम्पस प्रशासनले अभिभावकसँग अध्ययन तथा भौतिक पूर्वाधारसँग सम्बन्धित समस्या, क्याम्पसलाई थप सुरक्षित र प्रभावकारी बनाउने उपाय, विद्यार्थीलाई भविष्यको पेशा तथा रोजगारीका लागि आवश्यक सीप र अवसर, साथै क्याम्पस अभिभावकबीच सूचना आदानप्रदान र सञ्चार सुधारका विषयमा सुझाव संकलन गरेको थियो । प्राप्त सुझावलाई रणनीतिक योजना निर्माण प्रक्रियामा समेटिने जनाइएको छ ।
तस्बीर उपलब्ध छ
तपाईको प्रतिक्रिया