पोखरा एक्सप्रेस ,पोखरा ।
पोखरा महानगरपालिका–११, फुलवारीस्थित प्राइम मन्टेश्वरी स्कुलले आफ्नो १२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका–११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले बालमैत्री वातावरणमा आधारित सिकाइ पद्धतिले बालबालिकाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाको शिक्षा महाशाखाका वरिष्ठ अधिकृत कृष्णप्रसाद भण्डारीले स्कुलले बालमैत्री वातावरण र आधुनिक शिक्षण विधिमार्फत प्रभावकारी सिकाइ प्रक्रिया अपनाएको भन्दै प्रशंसा गर्नुभयो ।
त्यस्तै स्कुलका प्रधानाध्यापक विष्णु प्रसाद घिमिरेले गुणस्तरीय र व्यवहारिक शिक्षामा स्कुल सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले मन्टेश्वरी स्कुलले बालबालिकाको बाल–मनोबैज्ञानिक बुझेर शिक्षा दिदै आएको उल्लेख गर्नुभयो ।
स्कुलका संस्थापक तथा प्रबन्ध निर्देशक कविता पराजुलीले अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापा, अभिभावकहरूको तर्फबाट महेश गुरुङ र रवि तिमिल्सिनाले स्कुलको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा बालबालिकाहरूले श्रुति योग, नृत्य, संगीत तथा शैक्षिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
उनीहरूको सिर्जनात्मक र आत्मविश्वासी प्रस्तुतिले उपस्थित अभिभावक तथा अतिथिहरूलाई आकर्षित गरेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य विद्यार्थी दीपशन गुरुङले दिनुभएको थियो भने शिक्षिकाको तर्फबाट आकृति पहारीले विचार व्यक्त गर्नुभएको थियो। कार्यक्रम सञ्चालन स्नेहा गुरुङले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया